मुख्य समाचार

शिवसताक्षीमा दुई दिवसीय एआई सम्बन्धी तालिम सम्पन्न

शिवसताक्षीमा दुई दिवसीय एआई सम्बन्धी तालिम सम्पन्न


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा दुई दिने कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाका कार्यालय तथा वडा कार्यालयहरूमा प्रशासनिक कामकाजलाई प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शाखा प्रमुख तथा वडा सचिवहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख मेगाहाङ थोप्राले आधुनिक प्रविधिसँग कर्मचारीहरूलाई अभ्यस्त बनाउन र दैनिक प्रशासनिक कार्यलाई सहज, सरल तथा छरितो बनाउन यस्तो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले कृत्रिम बुद्धिमत्ताको प्रयोगले कर्मचारीहरूको क्षमता अभिवृद्धि हुनुका साथै सेवाग्राहीलाई अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तालिमको पहिलो दिन कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी उन्नत (एडभान्स) तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन नगरका युवाहरूलाई आधारभूत (बेसिक) तालिम दिइएको नगरपालिकाले जनाएको छ ।
तालिमका सहजकर्ता उमाकान्त खनालले पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग नगरेमा हरेक क्षेत्रमा पछि पर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै विश्वले अवलम्बन गरिरहेको प्रविधिलाई हरेक नागरिकले आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नगरका शाखा प्रमुख तथा वडा सचिव गरी ३० जना र ४० जना युवाको सहभागिता रहेको थियो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा सम्पन्न उक्त कार्यक्रम वडाध्यक्ष बहादुर आङ्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडासचिव नवराज घिमिरेको स्वागत तथा सञ्चालन पत्रकार सरोज भट्टराईले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

54
Shares