Banner news

झापामा लागुऔषधको जालो तोड्न मिसन ‘अप्रेसन ब्राउन’

झापामा लागुऔषधको जालो तोड्न मिसन ‘अप्रेसन ब्राउन’


भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध विरुद्ध सञ्चालन गरेको ‘मिसन अप्रेसन ब्राउन’ अन्तर्गत भद्रपुरबाट ठुलो परिमाणमा ब्राउन सुगर र नगद सहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको नेतृत्वमा खटिएको टोलीले भद्रपुर नगरपालिका–४, डाँगीबारीस्थित बब्लु मर्डीको घरमा छापा मारेको थियो । सो क्रममा लागुऔषध खरिद गर्न आएका बिर्तामोड–१ का २७ वर्षीय अनमोल गजमेर र घरधनी मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली लगायत विभिन्न देशका मुद्रा समेत बरामद गरेको छ । बरामद रकममा ३ लाख २५० नेपाली रुपैयाँ, ७५ अमेरिकी डलर, ५३० भारतीय रुपैयाँ, ५० पाकिस्तानी नोट र ५ अस्ट्रेलियन डलर रहेका छन् । साथै, उनीहरूको साथबाट विभिन्न कम्पनीका २ थान मोबाइल समेत जफत गरी थप अनुसन्धान भइरहेको छ ।

चैतमा २७ मुद्दा, ४५ जना पक्राउ
प्रहरीले चैत १ गतेदेखि सुरु गरेको अभियानको एक महिनाको प्रगति विवरण पनि सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न पाँच प्रहरी कार्यालयहरूले गरेको कारबाहीमा २७ वटा मुद्दा दर्ता भएका छन् भने ४५ जना पुरुष अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला र वडा प्रहरी कार्यालय भद्रपुरमा सबैभन्दा धेरै १६ मुद्दा दर्ता भई ४१९ ग्राम ५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । यहाँबाट ३१ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ५ मुद्दा दर्ता गरी ८६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर र ५ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकमा ३ मुद्दामा १० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित ६ जना समातिएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा २ मुद्दा दर्ता भई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जमा १ मुद्दा दर्ता गरी ८२० ग्राम गाँजा सहित १ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काका अनुसार लागुऔषधको जालो तोड्न ‘मिसन अप्रेसन ब्राउन’ लाई अझ सशक्त बनाइनेछ । पक्राउ परेका सबै अभियुक्तहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares