लक्ष्मी उप्रेती
मेचीनगर – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले विर्तामोड नगर क्षेत्रमा सञ्चालित सिटी सफारी ९ई(रिक्सा० माथि निगरानी बढाउँदै छड्के चेकजाँच र सचेतना कार्यक्रम गरेको छ। सोमबार गरिएको विशेष अपरेसनका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने ५५ वटा सिटी सफारी कारबाहीमा परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, आवश्यक कागजात नबोकेका र ट्राफिक नियम उल्लंघन गर्ने ५५ जना चालकलाई जरिवाना गरेको हो।

व्यवस्थापन र दुर्घटना न्यूनीकरण मुख्य उद्देश्य विर्तामोड क्षेत्रमा सञ्चालित ई-रिक्साहरूलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो अभियान चलाइएको इन्स्पेक्टर राईले बताए। पछिल्लो समय तीन पाङ्ग्रे सवारी साधनले जताभावी पार्किङ गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, जेब्राक्रसमा अवरोध गर्ने र डबल पार्किङ गर्ने गरेको जनगुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो।
चालकलाई अनुशिक्षण चेकजाँचसँगै ट्राफिक प्रहरीले चालकहरूलाई सडक अनुशासन सम्बन्धी प्रशिक्षण समेत दिएको छ। इन्स्पेक्टर राईले भने, सवारी नियम पालना गर्ने चालक नै सुरक्षित चालक हो। ई-रिक्सा चालकहरूले यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ र अमर्यादित ढंगले सवारी चलाउनु हुँदैन।
प्रहरीले चालकहरूलाई सवारी चलाउँदा अनिवार्य रूपमा लाइसेन्स र ब्लुबुक साथमा राख्न तथा मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन कडा निर्देशन दिएको छ।
निरन्तर निगरानीको चेतावनी छोटो दूरीका लागि उपयोगी साधन भए पनि नियम मिचेर चलाउँदा दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। नियम उल्लंघन गर्ने जोकोहीलाई कानुन बमोजिम कारबाही गरिने र आगामी दिनमा पनि यस्ता छड्के चेकजाँचलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ। सिटी सफारीलाई थप व्यवस्थित बनाउन दर्ता प्रक्रिया र नियमित अभिलेखीकरणमा पनि जोड दिइएको छ।







प्रतिक्रिया