दमक । झापा गत चैत १३ गते राति आएको विनाशकारी असिनापानीले झापाको गौरादह नगरपालिका वडा नं. १, नेवार टोलका किसान दुर्गा श्रेष्ठको व्यावसायिक केरा खेती पूर्ण रूपमा नष्ट गरेको छ । उत्पादन सुरु हुने समयमा आएको प्राकृतिक विपत्तिका कारण श्रेष्ठको झन्डै डेढ लाख रुपैयाँ बराबरको लगानी बालुवामा पानी भएको छ ।

किसान श्रेष्ठले आफ्नो ५ कट्ठा क्षेत्रफलमा जी–नाइन (जी –९) जातका ४०० बोट केरा लगाउनुभएको थियो । स्थानीय छिमेकी मैया श्रेष्ठका अनुसार राति परेको ठूलो असिनाले फल्दै गरेका केराका कोसाहरू फुटाइदिएको छ । “अहिले केरामा कालो दागी नै दागी देखिएको छ भने हरियो पातहरू सबै सुकेर मरेका छन्,“ उनले भनिन् । खेतीको अवस्था हेर्दा अब ती केराहरू बजारमा पठाउन योग्य नरहेको स्थानीयको भनाइ छ ।
नगरपालिकाको ५० प्रतिशत अनुदान र प्राविधिक सहयोगमा सुरु गरिएको उक्त खेतीमा मजदुरको ज्यालाबाहेक मात्रै १ लाख ५० हजार रुपैयाँ भन्दा बढीको क्षति भएको पीडित किसान दुर्गा श्रेष्ठले बताउनुभयो । “स्थानीय सरकारले खेतीको अवलोकन गरेर केही क्षतिपूर्ति दिए म जस्ता किसानलाई ठूलो राहत पुग्ने थियो,“ श्रेष्ठले मलिन हुँदै भन्नुभयो ।
के भन्छ नगरपालिका ?
बाली नष्ट भएको ११ दिन बितिसक्दा पनि सरकारी निकायबाट उचित सम्बोधन हुन सकेको छैन । यसबारे गौरादह नगरपालिकाका कृषि शाखा प्रमुख शिव न्यौपानेसँग सम्पर्क गर्दा, उनले हाल नगरपालिकामा ‘बाली क्षतिपूर्ति’ शीर्षकमा छुट्टै बजेट नभएको जानकारी दिए । ‘नगर कार्यपालिकाको बैठकले विशेष निर्णय गरेमा मात्र क्षतिपूर्ति दिन सकिने विकल्प छ,’ न्यौपानेले सुझाए ।
यता, नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीले असिनाले किसानलाई ठूलो चोट पु¥याएको स्वीकार गर्दै नगरपालिकाले पहल गर्ने आश्वासन दिनुभएको छ । उनले भने, ‘किसानहरूको निवेदन नगरपालिकामा आओस्, हामी क्षतिपूर्ति दिने सम्भावनाका लागि आवश्यक पहल गर्नेछौँ ।’







प्रतिक्रिया