Banner news

बिर्तामोडमा सडक निर्माणको क्रममा पानीको पाइपलाइन फुट्दा उपभोक्तालाई समस्या

बिर्तामोडमा सडक निर्माणको क्रममा पानीको पाइपलाइन फुट्दा उपभोक्तालाई समस्या


बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा खानेपानीको पाइप लाइनमा क्षति हुँदा उपभोक्ताहरु मारमा परेका छन् । सडक निर्माणको क्रममा पाइपमा क्षति हुँदा चारपाने, बेलडाँगी र बुट्टाबारी क्षेत्रका उपभोक्ताहरु मारमा परेका हुन् ।

एसियन हाइवे निर्माणका क्रममा खानेपानीको पाइपलाइनमा क्षति हुँदा पानी वितरणमा समस्या भइरहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

एसियन हाइवे निर्माणका क्रममा सडकका दुई भागमा रहेको खानेपानीका पाइपहरु फुट्ने, बन्द हुने समस्या आइरहेको जनाइएको छ । खानेपानीका सचिव पारसमनी मैनालीले पाइपमा क्षति हुनासाथ उपभोक्तासम्म पानी पुराउन गाह्रो हुन्छ । तत्कालै पानी सुक्ने भएपछि उपभोक्ताहरुलाई असुविधा हुने गरेको छ ।

सडक निर्माणका क्रममा प्रयोग गरिएको मेसिनले भाटभटेनीको उत्तर भागमा पाइपहरुमा क्षति हुँदा उपभोक्ताहरु समस्यामा परेका थिए । सचिव मैनालीले तत्कालै प्राविधिक टिम परिचालन गरेर अस्थायी रुपमा समस्या समाधान गरिएको जानकारी दिए । उनले पाइप व्यवस्थापन गर्दै काम अघि बढाउनुपर्ने बताए । एकछिन पनि पानी बन्द हुनु हुदैन, उनले भने – निर्माण कम्पनीलाई पानीको पाइप व्यवस्थापनमा दवाव दिदैं आएका छौं ।

उनका अनुसार पानी निरन्तर पठाउँदा मात्रै सजिलै घरमाथि चढाउन पनि सजिलो हुन्छ । पानी अनियमित हुनासाथ घरमाथि पानी पुराउन कठिन हुने गर्छ । वर्षौ पुरानो पाइपका कारण पनि पानी वितरणमा समस्या भइरहेको सचिव मैनालीले जानकारी दिए । कनकाई रोड र बुधबारे हटिया पश्चिम क्षेत्रमा पनि पानी नचढ्ने उपभोक्ताहरुको भनाई छ ।

सो क्षेत्रमा नयाँ पाइप विस्तार नगरेसम्म पानी माथि चढाउन गाह्रो हुने बताए । यस्तै, सुगम पम्पको दक्षिण क्षेत्रमा पनि उपभोक्ताहरु समस्यामा परेका छन् । उनले उपभोक्ताको गुनासो पछि खानेपानी समितिका प्रतिनिधिहरुले सडक निर्माण पक्षलाई छिटो मर्मत गरिदिन आग्रह गरेको बताएका छन् ।

बाटो निर्माणकै कारण पानी वितरणमा कठिनाई भएको हो, मैनालीले भने – पानीको पाइप फुटेपछि वितरणमा त्यसै पनि असजिलो हुन्छ, फेरि चालु गर्दा पनि फोर्स नै पुग्दैन ।

खानेपानीका व्यवस्थापक खड्गराज गिरीले नयाँ पाइपलाईन विस्तार नभएसम्म समस्या हुने बताए । सडक निर्माण गर्दा दुवै भागमा पाइपमा क्षति पुग्छ, उनले भने – सडक निर्माण नसकिएसम्म समस्या आइरहन्छ, अस्थायी रुपमा व्यवस्थापन गरिरहन्छौं । उपभोक्तालाई पाइपलाइनमा समस्या आएको १२ घण्टाभित्र अस्थायी सावधान खोजेर पानी वितरण गरिरहेका छौं । सडक निर्माण पक्षले नयाँ पाइपलाईन पनि विस्तार गरिरहेको उनको भनाई छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट १० हजार ४ सय ९९ सय उपभोक्ताले खानेपानी प्रयोग गरिरहेका छन् ।

शेयर गर्नुहोस :

108
Shares