बिर्तामोड । झापाको बिर्तामोडमा निर्माणाधीन घरबाट लडेर गम्भीर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ स्थित पुरानो बिजुली अफिस नजिकै डम्बर बहादुर श्रेष्ठको निर्माणाधीन दुई तले पक्की घरमा काम गर्ने क्रममा बिर्तामोड वडा नं. २ चैतुबारी बस्ने ४० वर्षीय शंखर किस्कु गत चैत १६ गते दिउँसो २ बजे छतबाट लडेका थिए ।
गम्भीर घाइते भएका किस्कुलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । अस्पतालमा उपचार पश्चात् स्वास्थ्यमा सुधार देखिएपछि उनलाई चैत २३ गते राति ९ बजे डिस्चार्ज गरिएको थियो । तर, घर पुगेका किस्कुको आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । पोष्टमार्टम पश्चात मृतकको शव उनका छोरा दुर्गा किस्कुले बुझिलिएका छन् ।







प्रतिक्रिया