मुख्य समाचार

महासंघको चुनावमा न्यौपानेलाई समर्थन जुटाउन आग्रह

महासंघको चुनावमा न्यौपानेलाई समर्थन जुटाउन आग्रह


झापा, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन लक्षित गर्दै झापाको विर्तामोड उद्योग वाणिज्य संघले आफ्ना अध्यक्ष राजु न्यौपानेका पक्षमा समर्थन जुटाउन औपचारिक पहल थालेको छ ।

संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई पत्राचार गर्दै आगामी चैत २९ र ३० गते हुने ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा कार्यकारिणी सदस्य (खुल्ला) पदका उम्मेदवार न्यौपानेलाई सहयोग र समर्थन गर्न आग्रह गरेको हो ।

संघको चैत ९ गते बसेको कार्यसमिति बैठकले न्यौपानेलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।

न्यौपानेले २०६७ सालदेखि कार्यसमिति सदस्यका रूपमा संस्थागत यात्रा सुरु गरेका थिए । त्यसपछि २०७४–२०७७ सम्म उद्योग उपाध्यक्ष, २०७७–२०८० सम्म वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै २०८१ सालदेखि संघको अध्यक्षका रूपमा कार्यरत छन् ।

संघका अनुसार न्यौपानेले व्यवसायीका समस्या समाधान, संस्थागत सुदृढीकरण र संघको गरिमा अभिवृद्धिमा उल्लेखनीय भूमिका खेलेका छन् । बजार तथा व्यावसायिक कम्प्लेक्सहरूमा उपसमिति गठन गरी व्यवसायीका गुनासा नजिकबाट सम्बोधन गर्ने अभ्यासलाई उनले प्राथमिकता दिएका छन्।

त्यस्तै, करको बढ्दो दबाब, नीतिगत अन्योल र प्रशासनिक जटिलताजस्ता समस्याको समाधानका लागि निरन्तर पहल गर्दै उद्योग–व्यापार क्षेत्रको दिगो विकासमा उनले सक्रियता देखाएको संघको दाबी छ ।

संघले न्यौपानेको अनुभव, नेतृत्व क्षमता र प्रतिबद्धतालाई आधार मान्दै उनलाई विजयी गराउन सम्बद्ध संघसंस्थाहरूको ‘अमूल्य मत’ आवश्यक रहेको भन्दै संघका कार्यवहाक अध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले आग्रह गरेका हुन् ।

शेयर गर्नुहोस :

0
Shares