मुख्य समाचार

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोग गरे कारबाही हुने

४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोग गरे कारबाही हुने


बिर्तामोड । सरकारले वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा लगाएको प्रतिबन्धलाई थप कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यसअघि नै लागू भइसकेको प्रतिबन्धलाई अटेर नगर्न सम्बन्धित सबैमा चेतावनी दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र आर्थिक वर्ष २०८२-८३ को बजेट वक्तव्यको बुँदा नम्बर ११८ मा उल्लेखित व्यवस्था बमोजिम वातावरण प्रदूषण न्यूनीकरणका लागि यस्तो कदम चालिएको विभागले स्पष्ट पारेको छ ।

२०८२ साल मङ्सिर १ गतेदेखि नै पूर्ण रूपमा कार्यान्वयनमा आउनुपर्ने यो नियमलाई धेरैले बेवास्ता गरेको पाइएपछि विभागले पुनः ताकेता गर्दै दैनिक कामकाजमा समेत यस्ता झोला प्रयोग नगर्न र नगराउन सचेत गराएको हो । विभागका अनुसार ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन र वितरणले वातावरणमा दीर्घकालीन क्षति पु¥याइरहेको छ ।

अबका दिनमा कसैले लुकीछिपी वा खुल्ला रूपमा यस्ता सामग्रीको प्रयोग, भण्डारण वा खरिद–बिक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

शेयर गर्नुहोस :

27
Shares