खेल

बुट्टाबारीमा बैशाख ५ गतेदेखि चौथो ऐनी बुट्टाबारी गोल्ड कप हुने

बुट्टाबारीमा बैशाख ५ गतेदेखि चौथो ऐनी बुट्टाबारी गोल्ड कप हुने


बिर्तामोड । झापाको बिर्तामोडमा बैशाख ५ गतेदेखि ‘चौथो ऐनी बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । बुट्टाबारीमा हुने प्रतियोगिता तयारीबारे आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगितामा भारतको एकसहित नेपालका सात गरी ८ वटा टोली सहभागी हुने क्लबका अध्यक्ष प्रविण राईले जानकारी दिए । आयोजक बुट्टाबारी युनाइटेड, रेडहर्स इलाम, तरञ्जुबारी फुटबल क्लब (सिलिगुढी) भारत, ब्रदर्सहुड क्लब उदयपुर, जलथल एफ.सी. झापा, फेयर फुटबल क्लब धरान–सुनसरी, बेलबारी फुटबल क्लब मोरङ र बगान युथ क्लब कचनकवलबी प्रतिष्पर्धा हुने छ ।

आयोजक क्लवका अध्यक्ष राईका अनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई २ हजार २ सय रुपैया प्रदान गरिनेछ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १५ हजार, तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही नगद १० हजार र ट्रफि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको ट्रफी समेत सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

त्यसै अवसरमा सार्वजनिक गरिएको खेल तालिका अनुसार उद्घाटन खेल वैशाख ५ गते आयोजक बुट्टाबारी युनाइटेड र तरञ्जुबारी फुटबल क्लब (भारत)बीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुनेछ । प्रतियोगिताको कुल अनुमानित बजेट २१ लाख ६३ हजार ३ सय ३३ रूपैयाँ रहेको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष राईले प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष बाबुराम बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने सचिव टिकाराम विष्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा क्लबका सल्लाहकार संयोजक देवी नेपाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा लगायतले प्रतियोगिता सफल बनाउन सबैको साथ सहयोगको जरुरी रहेको बताएका थिए ।

शेयर गर्नुहोस :

135
Shares