Banner news

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाखको क्षति

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाखको क्षति


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ बुट्टाबारीमा सञ्चालित एक कपास प्रशोधन उद्योगमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नुर मोहम्मदको श्रीमती सलमा खातुनको नाममा दर्ता भई सञ्चालनमा रहेको बिर्तामोड कपास प्रशोधन उद्योग (सिरक गोदाम) मा आगलागी भएको थियो ।

दिउँसो करिब १२ बजेबाट सुरु भएको आगो नियन्त्रणमा लिन साढे दुई घण्टा लागेको थियो । दिउँसो २ः२५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको झापा प्रहरीले जनाएको छ । आगलागी लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, चारआलीस्थित अरिदमन गणबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको थियो ।

आगो निभाउनका लागि झापाको बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल प्रयोग गरिएको थियो । सुरक्षा निकाय, दमकल र स्थानीय बासिन्दाहरूको प्रयासपछि आगो थप फैलिन नपाई नियन्त्रणमा आएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट टिनको बेरा र छानो भएको गोदाम घर, भित्र रहेका कपास बनाउने मेसिनहरू र कच्चा पदार्थ (रुवा) पूर्ण रूपमा नष्ट भएको छ ।

बिर्तामोड ५ निवासी सलमा खातुनले जग्गा भाडामा लिएर उक्त उद्योग सञ्चालन गरिरहेकी थिइन् । आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस :

108
Shares