Banner news

पूर्वी सीमामा प्रहरीको उच्च सतर्कता, कुकुरसहित प्रहरी तैनाथ

पूर्वी सीमामा प्रहरीको उच्च सतर्कता, कुकुरसहित प्रहरी तैनाथ


लक्ष्मी उप्रेती

मेचीनगर । पछिल्लो समय विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगाल राज्यसँग सिमाना जोडिएको पूर्वी नेपालको भारत सीमा क्षेत्र काँकरभिट्टामा नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको हो ।

सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलगायत अन्य आपराधिक कार्यलाई रोक्नका निम्ति सीमाक्षेत्रमा प्रहरी चेकजाँचलाई समेत कडाई गरेको स्थानीय प्रशासनले जनाएको छ ।

कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरान, ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टासँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिदैं चेकजाँच गरिएको बताइएको छ । तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरीले सयुक्त चेकजाँच गर्ने गरेको हातहतियार तथा लागूऔषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको प्रहरीको भनाई छ ।

कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरसहित आएको प्रहरी टोलीले बुधबार काँकरभिट्टामा चेकजाँच गरेको थियो । सार्वजनिक, तथा नीजि सवारी साधनलाई रोकेर तालिम प्राप्त कुकुरसहित चेकजाँच गरिएको प्रहरी अधिकृतले जनाएका छन् । चेकजाँचमा कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरसहित आएको प्रहरी टोली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोली ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाको टोली खटिएको थियो ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका निम्ति सीमा क्षेत्रमा पर्ने सबै प्रमुखलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको हुँदा झापा प्रहरीले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको बताइएको छ ।

केही समय अघिदेखि सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको छ । निगरानी एवम् चेकजाँच तथा सूक्ष्म रूपमा खबर संकलन कार्य समेत गरिराखेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक निशेष चापागाईँले बताए ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरीले अन्य सुरक्षा निकायसँग समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा निगरानी गर्ने कार्य समेत कडाईका साथ लागू गरिएको प्रहरी नायव उपरीक्षक चापागाईँले बताए ।

उनले भने, ‘हामीसँग तालिम प्राप्त कुकुर नभएका कारण कोशी प्रदेश प्रहरी केनाइन शाखा, धरानको तालिम प्राप्त कुकुरबाट समेत चेकजाँच गरिरहेका छौ । यो मासिक वा दुई महिनामा गर्ने गछौं ’ नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए ।

नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत प्रहरीले गरिरहेको छ । सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा समेत निगरानी बढाइएको प्रहरीको भनाई छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै सशस्त्र प्रहरीले समेत काँकरभिट्टा नाकामा कडा चेकजाँच र निगरानी बढाएको छ ।

चेकजाँचमा कडाई र शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको प्रहरीको भनाई छ । त्यस्तै पछिल्लो समय देशको राजनीतिक अवस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको समाचार स्रोतको भनाई छ ।

नेपाल भारतको झापा खण्ड १४४ दशमलव २ किलोमिटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मीहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भईरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

झापामा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोक्न प्रहरीलाई चुनौतीपुर्ण रहेको झापा प्रहरीले जनाएको छ । नेपाल–भारत सीमाको परम्परागत आवतजावतलाई सहज बनाउन सचेत रहँदै सहजीकरण गरिएको साथै, शहरी क्षेत्रका संवेदनशील स्थानहरूमा पनि निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

54
Shares