०७८ मा तोकिएको थियो भाडा
बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा सञ्चालित अटो र सिटी सफारीले मनपरी भाडा लिएको सर्वसाधरणहरुले गुनासो गरेका छन् । बिर्तामोड क्षेत्रमा ३० रुपैयाँ लोकल भाडा तिरेर यात्रा गर्दै आएका सर्वसाधारणले ५० रुपैयाँ तिर्नुपरेको गुनासो गरे ।
बिर्तामोड क्षेत्रमा सञ्चालित अटो र सिटी सफारीहरुको भाडामा एकरुपता नभएको स्थानीयको भनाई छ । भाडामा एकरुपता नहुँदा यात्रुहरुले मनपरी भाडा बुझाउनु परेको छ ।
बिर्तामोडमा अटो सञ्चालन गर्दै आएका युवराज चम्लागाईले भाडा परिवर्तन भएको स्वीकार गरे । उनका अनुसार इन्धनको मुल्य वृद्धिसँगै भाडा पनि वृद्धि भएको हो । अधिकांशले लोकल भाडा ५० रुपैयाँ लिन थालेको उनको भनाई छ । अटो तथा सिटी चालकहरुले वर्षौदेखि एउटै भाडामा यात्रुहरुलाई सेवा दिदैं आएको चम्लागाईले जानकारी दिए ।

इन्धन प्रतिलिटर १ सय रुपैयाँ हुँदा कायम भाडामा अहिलेसम्म यात्रु बोकेका छौं, उनले भने – प्रतिलिटर २ सयभन्दा माथि इन्धनको मुल्य पुगेपछि पुरानो भाडामा बोक्न गाह्रो छ । इन्धनको मुल्य वृद्धि भएकै कारण भाडामा परिवर्तन भएको उनीहरुको भनाई थियो ।
यस्तै, अर्का चालक जागिर आलमले पनि भाडा वृद्धि भएको बताए । मनमोहन अस्पतालदेखि चारपाने गएको भाडा ५०–६० बाट बढेर १५० रुपैयाँ पुगेको बताए । एक जना हुँदा यात्रुलाई महंगो नै पर्छ, ३ जना हुँदा एकै जनालाई १५० पर्दैन ।
मेची अञ्चल अटो यातायात प्रालिका उपाध्यक्ष एवम् व्यवसायी राजु धमलाले लोकल भाडा ५० रुपैयाँभन्दा कम गर्न नसकिने बताएका छन् । उनले सरकारले अटो रिक्साको भाडा वृद्धि नगरे पनि अहिलेको इन्धनको मुल्यका आधारमा भाडा बढाउनुपर्ने बाध्यता रहेको बताए । उनले विगतमा ५० रुपैयाँ लिएर पुराउन जाने ठाउँहरुमा अब जान सकिन्न, उनले भने – महंगी बढेको छ । इन्धनको भाउ बढेर कहाँ पुगिसक्यो । पुरानै भाडामा हिड्न धेरै गाह्रो छ ।
अटो चालक राज खरेलले मेची आँखा अस्पतालको स्ट्याण्डमा बस्नेहरुले भाडा वृद्धि नगरेको स्पष्ट पारेका छन् । उनका अनुसार चोक क्षेत्रमा यात्रुहरुबाट मनपरी भाडा लिएको गुनासो आफूहरुले पनि थाहा पाएको बताए । पूर्व र पश्चिम स्टेण्डमा यात्रुहरुसँग मनपरी भाडा लिइरहेको गुनासो बढिरहेको उनको भनाई छ ।
मुख्य राजमार्गका स्टेण्ड, अस्पताल, बजार क्षेत्रमा अटो र सिटी चालकहरुले आफुखुशी भाडा उठाइरहेको अधिकांश यात्रुहरुको गुनासो छ ।
०७८ सालमा बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा तोकिएको थियो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका माग गरेपछि बिर्तामोड नगरपालिकाले भाडा दर कायम गरेको हो ।
व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा भाडा वृद्धिका लागि माग गरेका थिए । भाडा वृद्धिका लागि नगरपालिकाले नै निर्णय गर्नुपर्ने पत्राचार भएपछि व्यवसायीको प्रस्ताव बमोजिम भाडादर कायम गरिएको थियो ।
बिर्तामोड नगरपालिकाले न्यूनतम ३० रुपैयाँदेखि ११० रुपैयाँसम्म भाडा तोकेको थियो । बिर्तामोड मुक्तिचोकदेखि बिर्ताबजारसम्म ३० रुपैयाँ कायम गरिएको थियो भने सबैभन्दा धेरै मुक्तिचोकदेखि देउनियाको ११० रुपैयाँ भाडा कायम गरिएको थियो । मुक्तिचोकदेखि शैनिक बजारसम्मको १ सय रुपैयाँ भाडा तोकिएको थियो । सो समयमा पेट्रोल प्रति लिटर १७० हाराहारी थियो ।
भाडाका विषयमा जिल्लास्थित यातायात व्यवस्थापन समितिले पुनरावलोकन गर्न सक्ने छ । सरोकारवालाबीचको छलफलबाट नयाँ भाडादर कायम गर्न सकिने जनाइएको छ ।







प्रतिक्रिया