Banner news

‘फुटपाथ क्लियर’ गराउन बिर्तामोडको नगर प्रहरी आक्रामक

‘फुटपाथ क्लियर’ गराउन बिर्तामोडको नगर प्रहरी आक्रामक


बिर्तामोड । बिर्तामोड नगरपालिका सडकपेटी खाली गराउन आक्रामक बनेको छ । अटेरी गर्ने व्यापारीहरुका सामान उठाउदै अन्य व्यवसायीहरुलाई सचेत गराएको छ । बजार क्षेत्रमा सडक पेटी खाली गराउने अभियान पुनः सुरु गर्दै नगर प्रहरीको टोलीले बिहीवार कृषिथोक रोडका केही क्षेत्रमा फुटपाथ खाली गराएको हो ।

नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो । पैदलयात्रु तथा सवारी आवागमनमा अवरोध हुने गरी व्यापारीले फुटपाथ प्रयोग गर्न थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाका अनुसार गत वर्षदेखि नै सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको हो । उहाँले शुक्रवारदेखि आवश्यक सबै क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा सडक पेटी खाली गराइने जानकारी दिनुभयो । कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गरेपछि सामान जफत गर्न थालिएको नगर प्रहरीका सहइन्चार्ज टंक तिम्सिनाले बताउनुभयो ।

कृषिथोक क्षेत्रको सडकपेटीमा सामग्री राखेर बिक्री वितरण गर्दै आएकोकारण पैदल यात्रुलाई असहज भएको सर्वसाधारणको गुनासो थियो ।

शेयर गर्नुहोस :

378
Shares