अर्जुनधारा

बोस्टन क्रिकेट एकाडेमी विजयी

बोस्टन क्रिकेट एकाडेमी विजयी


झापा । १४३ रनको फराकिलो जित निकाल्दै बोस्टन क्रिकेट एकाडेमीले अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टाको मिलन क्रिकेट एकाडेमीलाई पराजित गर्दै बोस्टनले शानदार जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बोस्टनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १६ रनको विशाल योगफल तयार पारेको थियो । उसका लागि कप्तान एनोक राईले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा १ सय ३ रनको सतक प्रहार गरे । उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, प्रत्यक्ष बास्तोलाले २६ बलमा ४४ रनको योगदान दिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको मिलन क्रिकेट एकाडेमी १३ ओभर १ बलमा मात्र ७४ रनमा समेटियो । उसका लागि सुभम सर्दनले १५ र निरज भट्टराईले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । बोस्टनका पिउस राजवंशी र इन्दिप बस्नेतले समान २–२ विकेट लिए ।

यसैगरी, आजै भएको दोस्रो खेलमा धुलाबारीको सरस्वती क्रिकेट एकाडेमीले दमकको आस्था क्रिकेट एकाडेमीलाई ८७ रनले पराजित गर्दै विजयी सुरुवात ग¥यो ।

टस जितेर ब्याटिङ रोजेको सरस्वतीले ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। उसका लागि निजल राईले ३५ तथा कुश साहले २८ रनको योगदान गरे । आस्थाका रुविन भण्डारीले ३ विकेट लिए ।
१ सय ५० रनको लक्ष्य पछ्याएको आस्था एकाडेमी १२ ओभर २ बलमा ६२ रनमै अलआउट भयो । उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । सरस्वतीका अनुराग आचार्यले ४ तथा कुश साहले २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका कुश साह ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगितामा नेपालका ८ तथा भारतको कोलकाता र पटनाका २ टोलीसहित कुल १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन हुनेछ । दुई समूहमा विभाजित टोलीहरूले समूह चरणमा चार–चार खेल खेल्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिग चरणमा ‘प्लेयर अफ द म्याच’लाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी लाक्पा लामा, बोस्टन क्रिकेट एकाडेमीका सञ्चालक बिनित बास्तोलालगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस :

27
Shares