बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले हरेक वर्ष उत्कृष्ट शिक्षक छनौटका लागि आवेदन माग गर्दै आएको छ । नगरले माग गरेको आवेदनमा शिक्षकहरुको उपस्थिति भने कमजोर पाइएको छ ।
शुक्रवार २०८१ का उत्कृष्ट ३ जना शिक्षकलाई नगरपालिकाले नगद ५० हजारसहित पुरस्कृत गरेको छ । ठुलो नगदराशीसहितको पुरस्कार हुँदा पनि आवेदन दिनेहरुको संख्या कमजोर रहेको तथ्याङक रहेको छ ।
बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षकहरुमा प्रावि तह तर्फ जनता आधारभुत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाईलाई पुरस्कृत गरेको हो ।

उत्कृष्ट शिक्षक छनौट समितिका संयोजक युवराज पाण्डेले १४ जना आवेदकबाट ३ जना शिक्षक छनौट गरिएको बताए । उनका अनुसार उत्कृष्ट शिक्षक छनौटका लागि प्राविबाट ८ जना, निमावि र माविबाट ३-३ जनाले आवेदन दिएका थिए । संस्थागत विद्यालयबाट आवेदन दिनेहरुको संख्या अति न्यून रहेको छ ।
नगरपालिकाले सामुदायिक र संस्थागत दुवै क्षेत्रका लागि आवेदन खुलाउने गरेको छ । अति कम शिक्षकले आवेदन दिनुभयो, पाण्डेले भने – यो संख्या बढेर जानुपर्छ । उत्कृष्ट शिक्षक सम्मान कुनै एक विद्यालयको प्राङगणबाट सबैका सामुन्ने प्रदान गरिनुपर्छ ।
नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कडेंलले आवेदन दिएर पुरस्कार लिनुपर्ने भन्ने बुझाईका कारण कम संख्यामा आवेदन परेको हुन सक्ने बताए । विश्वभर पुरस्कारहरु दावी गर्न आवेदन दिने व्यवस्था छ, उनले भने – यहाँ निवेदन दिएर पुरस्कार लिनु गलत हो भन्ने भाष्य भएर हुन सक्छ । बिर्तामोडमा सामुदायिक र संस्थागतमा १६ सय बढी शिक्षक कार्यरत रहे पनि उत्कृष्ट शिक्षकका लागि १४ वटा आवेदन परेको थियो ।
बिर्तामोड नगरपालिकाले ३ वर्षदेखि उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई नगदसहित प्रोत्साहन गर्दै आएको छ । नगरले शिक्षा क्षेत्रमा गरिरहेको यो कार्यक्रमको चौतर्फी प्रशंसा छ ।







प्रतिक्रिया