बिर्तामोड । नेपाली पत्रकारितामा विश्वविद्यालयका रुपमा परिचित झापाका अग्रज पत्रकार नकुल काजीले समकालिन र नयाँ पुस्ताका पत्रकारसँग आफ्नो पत्रकारिता जीवनका अनुभव बाँड्नु भएको छ । पे्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा अग्रज पत्रकार काजीले आफ्नो पत्रकारिता जीवनका अनुभव र भोगाईहरु नयाँ पुस्ता समक्ष प्रस्तुत गर्नुभएको हो ।

प्रेस चौतारी झापाले त्रैमासिक रुपमा आयोजना गर्दै आएको ‘अग्रजलाई सुनौं’ कार्यक्रमको चौथो संस्करणमा उहाँले भाषाको संरक्षणप्रति ध्यान दिन नयाँ पुस्तालाई सुझाव दिनुभएको छ । पछिल्लो समय भाषालाई बिगार्ने काम भइरहेका बताउँदै त्यसको संरक्षणमा नयाँ पुस्ताको योगदान हुनुपर्नेमा उहाँको जोड थियो । भाषा, साहित्यको संरक्षण गर्न सुझाव दिँदै अग्रज पत्रकार काजीले पत्रकारिता जीवनका ६ दशकबारे चर्चा गर्नुभएको थियो । आफ्ना भोगाइहरुलाई स्मरण गर्दै उहाँले समाचार लेखेकै कारण पटक-पटक हिरासत बस्नुपरेको तीतो यथार्थ सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘श्री ५ लेख्नुपर्ने ठाउँमा ५ छुटाउँदा ११ दिनसम्म हिरासत बस्नु र्पयो ।’
३६ वटा विभिन्न साहित्यिक कृति लेखन तथा प्रकाशन गरिसक्नुभएका काजीले ‘विवेचना’ प्रकाशनका दु:खसुख स्मरण गर्दै आफ्नो कलम सत्यका सामु कहिल्यै नडगमगाएको बताउनुभयो । ‘सत्यभन्दा दायाँबायाँ गरिनँ, तपाईहरु पनि आफ्नो कमललाई सत्यभन्दा बाहिर नलैजानुहोस् । बलियो प्रतिपक्षका रुपमा क्रियाशिल बन्नुहोस्’, उहाँले भन्नुभयो, ‘हरेक नागरिकलाई आस्था राख्न अधिकार छ । तर, पत्रकारले कलम चलाउँदा कलममा आस्था लोड हुनुहुँदैन ।’ पत्रकारको कलम सधैं सत्यको पक्षमा क्रियाशिल हुनुपर्ने उहाँको धारणा छ ।

पछिल्लो समय पत्रकारिता क्षेत्रमा कित्ताकाट बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘कित्ताकाटले सही गन्तव्यमा र्पुयाउन सक्दैन । पत्रकारिता क्षेत्रमा कसैले पनि कित्ताकाट नगर्नुहोस् ।’ यस क्षेत्रका अग्रजहरुको पहिचानमा ध्यान दिनुपर्ने बताउँदै नयाँ पुस्तासँगको भेट आफ्नो लागि पनि नयाँ अवसर भएको व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो, ‘पछिल्लो समयमा प्रहरीले चोर फउ गरेको समाचार आउँछ, प्रहरीको काम नै चोर समाउने हो यो कसरी समाचार भयो ?’ उहाँका अनुसार चोरलाई के कारबाही भयो भन्ने खोजी समाचार आइरहेको छैन । पत्रकारले हरेक घटनाको परिणामसम्म पुगेर नागरिकलाई सुसूचित गर्नुपर्छ । अहिले त्यो हुन सकिरहेको छैन ।
साहित्य लेखन, भ्रमण, पत्रकारिताका क्रममा प्रशासक, अञ्चलाधिशहरुसँग भएका विभिन्न घटना सुनाउँदै पत्रिका प्रकाशन र बन्द गर्नुको बाध्यताहरु उहाँले राख्नुभयो ।

पत्रकार मोहन काजीले उहाँको बारेमा चर्चा गर्दै पछिल्लो पुस्ताका लागि नकुल काजी प्रेरणा स्रोत रहेको बताउनुभयो । प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले नयाँ पुस्ताका लागि अग्रजका जीवन भोगाई विगतलाई बुझ्नका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रकारितामा जीवन नै समर्पण गर्नुहुने अग्रजका अनुभव नयाँ पुस्ताका लागि प्रेरणा हुने उद्देश्यका साथ ‘अग्रजलाई सुनौँ’ कार्यक्रम थालनी गरिएको बताउनुभयो ।







प्रतिक्रिया