मुख्य समाचार

आइतबार ओपीडी सेवा सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ

आइतबार ओपीडी सेवा सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ


काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइ देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारेको हो ।

सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले अस्पतालहरूलाई कार्यबोझ हेरेर आइतबार पनि ओपिडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो । मन्त्रालयको उक्त अनुरोधप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साविककै कर्मचारीबाट अतिरिक्त सेवा दिन सम्भव नभएको संघको ठहर छ । चिकित्सक र स्वास्थ्यकर्मीहरू १०–४ को डिउटी बाहेक पनि अनकल, राउण्ड र इमर्जेन्सी लगायतका सेवामा चौबीसै घण्टा खटिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

फरक–फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल तथा झन्झट सिर्जना भई स्वास्थ्य सेवामै असर पुग्ने संघको दाबी छ । इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपिडी समय बढाएर थप इन्धन खर्च गर्नु अव्यवहारिक भएको समेत संघले जनाएको छ ।

संघले मन्त्रालयलाई आफ्नो अनुरोध फिर्ता लिई उचित निर्णय गर्न जोडदार माग गरेको छ। न्यूनतम सेवा सुविधा पनि नदिई जबरजस्ती काममा खटाउन खोजिए चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसको जिम्मेवार मन्त्रालय स्वयं हुनुपर्ने चेतावनी समेत संघले दिएको छ ।

शेयर गर्नुहोस :

81
Shares