प्रदीप परियार
बिर्तामोडमा नगर प्रहरीले बजार क्षेत्रमा सामान उठाइरहेको भिडियो भाइरल भइरहेको छ । सिरक, डसनासहितका सामानहरु नगर प्रहरीले गाडिमा राखेर लिएर गएको भिडियोमा देखिन्छ । सामान उठाउँदा व्यवसायीहरुले आक्रोस पनि व्यक्त गरिरहेका छन् ।
बजारमा नगर प्रहरीले किन सामान उठाइरहेको छ ? यो अकास्मात हो वा पूर्व जानकारीसहित हो ? बिर्तामोड नगरपालिकाले अघिल्लो वर्षदेखि नै फुटपात खाली गर्ने अभियान सञ्चालन गरिरहेको छ । सडक आसपासमा हिडडुल नै गर्न नमिल्ने गरी फुटपातमा व्यवसाय सञ्चालन हुँदा पैदल यात्रीहरुको व्यापक गुनासो छ ।
गाडि वा मोटरसाइकलमा यात्रा गर्नेहरुलाई फुटपातको महत्व कमै थाहा छ , जति पैदलयात्रीहरुलाई छ । हिडडुल गर्न गाह्रो भएपछि प्रहरी र स्थानीय तहमा सर्वसाधरणले गुनासो गर्ने गरेका छन् । गुनासोकै कारण फुटपात खाली गराइएको हो ? त्यो मात्र होइन । सडक र बजार क्षेत्रको सुन्दरताका लागि पनि यो आवश्यक छ ।

गफ गर्दा विदेशको उदाहरण दिनेहरुले नै बजारमा पसल अगाडि लम्बेतान सामान राखेर कुरुप बनाइरहेका छन् । नेपाल बनेन भन्नेहरु नै बजारलाई कुरुप बनाउदैछन् । उनीहरुले आफ्नो भूमिका कहिल्यै बुझेनन् । आवातजावत नै अस्तव्यस्त हुने गरि बाटो नै ढाकेर सामान राख्ने तरिका असाध्यै गलत छ । व्यवसायीहरुले कम्तिमा पसल आसपासको सुन्दरतामा पनि ख्याल गर्नुपर्छ ।
विशेष गरी बिर्तामोडको कृषिथोक क्षेत्र र भद्रपुर लाइनमा व्यापारीहरुले बाटोसम्म सामान राख्दै आएका छन् । यो जरुरी छैन । व्यापारीहरुले ग्राहकलाई सजिलै आँखा परोस् भनेर राखेको हो । व्यापार नै गर्नका लागि सामान फिजाएको हो । तर, यो सौन्दर्यता र सडक सुरक्षासँग मेल खाँदैन । त्यसैले व्यापारीहरुले पनि सामान फिजाएर राख्नु गैरजिम्मेवारी हो । बिर्तामोडमा धेरैजसो फेन्सी कपडा, फर्निचर, भाँडा, साइकल, सागसब्जी, फुलफुल, हार्डवेयरका सामान सडकसम्म राख्ने गरेको पाइन्छ । सबै सामान भित्रै राखे पनि मज्जाले विक्री हुन्छ । एउटाले हटाउने हो भने छिमेकीहरुले पनि हटाउने छन् । एउटाले बाहिर निकाल्दा अर्कोले पनि निकालेको हो । सडकसम्म सामान फिजाउनेको धेरै व्यापार हुन्छ भन्ने चेतना छ । यसलाई विस्तारै बदल्नुपर्छ ।
सामान भित्रै राखे पनि व्यापार हुन्छ । त्यसका कयौं उदाहरण छन् । मोवाइल पसल हेरौं, सडकसम्म मोवाइल राखेको देखिदैन । सुनचाँदीका गरगहना व्यापारीहरुलाई हेरौं, सामान बाहिर निकाल्नै पर्दैन । औषधि पसलहरु हेरौं, बाहिर निकाल्नै पदैन । त्यसैले डसना बाहिर फिजाएर बजारलाई किन कुरुप बनाउने ? व्यवसायीहरुले सोच्नुपर्छ । यहाँ बिर्तामोडकै मान्छे मात्र घुम्ने होइन । यहाँ देशविदेशका मानिसहरु आइरहेका हुन्छन् । उनीहरुले बजारको सुन्दरता, सडक सुरक्षा र यहाँका व्यवसायीहरुको अनुशासन पनि ख्याल गरिरहेका हुन्छन् । त्यसैले नगर प्रहरीले गरिरहेको कामलाई सहयोग गर्न अपरिहार्य छ ।
सहयोग कसरी गर्ने ? सामान उठाउन दिएर ? होइन, नगरपालिकाले पसल अगाडि सामान नफिजाउन गरेको अनुरोध पालना गरे । पसलभित्रदेखि सडकसम्म सामान राखेर बजारलाई कुरुप बनाउनु हुदैन । बजारको सुन्दरताका लागि व्यापारीहरुको योगदान जरुरी छ । व्यापारीहरुले सामान बाहिर नराख्ने हो भने यस प्रकारका भिडियोहरु देखिने छैनन् । व्यवसायी र नगर प्रहरीबीच टकराव बन्द हुने छ ।
अर्को पक्षलाई पनि हेरौं । सडकमा डुलाएर सामान बेच्नेहरुले उपभोक्तालाई लिने मुल्यमा कुनै फरक छैन । मासिक २० हजारको सटर भाडामा लिएर व्यापार गर्ने लिने मुल्य र डुलाएर व्यापार गर्नेको मुल्यमा भिन्नता छैन । त्यसले सटरमा २० हजार भाडा तिर्नेहरुलाई पनि समस्या छ । उनीहरु करको दायरामा छन् । कर बुझाउनेहरुलाई डुलाउनेहरुका कारण व्यापारमै अप्ठ्यारो छ । यसैले भाडामा बसेर व्यवस्थित रुपमा व्यापार गर्नेहरुका लागि पनि सोच्नुपर्छ । डुलाएर व्यापार गर्नेहरुले पनि सटरमा व्यवस्थित रुपमा व्यापार गर्न सक्छन् । यसैले दया र भावनामा मात्र बगेर हुन्न, बजारको सुन्दरता र सुरक्षालाई पनि ख्याल गरौं ।
ट्राफिक प्रहरीलाई सडकसम्म सामान राखेका कारण सवारी व्यवस्थापनमा कठिनाई छ । पार्किङको समस्या हुन्छ । यो अभियान एउटा व्यापारीलाई दुख दिने वा नगर प्रहरीलाई काम देखाउने रुपमा मात्र हेर्न हुदैन । व्यवसायीहरुले नियमको पालना गर्नुपर्छ ।
बिर्तामोड वाणिज्य संघले यस विषयमा आफ्नो धारणा पनि सार्वजनिक गरिसकेको छ । हो, व्यापारीहरुका सामान जफत गर्ने काम राम्रो होइन । धरपकड गर्ने काम राम्रो होइन । सहमतिमा समाधान खोज्नैपर्छ । त्यसका लागि व्यवसायीहरुले सडकसम्म सामान फिजाउने काम बन्द गर्नुपर्छ । वाणिज्य संघले व्यवसायीहरुलाई त्यस तर्फ सचेत गराउने हो भने तत्काल देखिएको द्वन्द्व स्वतः समाधान हुनेछ ।







प्रतिक्रिया