बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्ग सडकखण्डमा आइतबार अपराह्न तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आज ४ः३० बजेको समयमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेका प्र.१–०२–०४१ प ८९८७ र को ३१ प ९२९० नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१२ प ७६३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलका चालक इलाम नगरपालिका–६ निवासी २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको छ । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका श्रेष्ठलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पु¥याइएकोमा साँझ ५ः१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ८९८७ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान–१५ का २७ वर्षीय मनी कुमार देवान र सोही मोटरसाइकलको पछाडि सवार इटहरी–५ का २७ वर्षीय अनिष बस्नेत रहेका छन् । त्यस्तै अर्को ९२९० नम्बरको मोटरसाइकल चालक इटहरी–५ का २९ वर्षीय नन्द बहादुर मगर र सोही मोटरसाइकलमा सवार इटहरी–१७ का २९ वर्षीय कमल मगर घाइते भएका छन् ।
दायाँ हातमा चोट लागेका दुवै चालकहरूको अवस्था मध्यम रहेको छ भने पछाडि सवार दुई जनाको अवस्था सामान्य छ । घाइते चारै जनाको बिर्तामोडस्थित स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।







प्रतिक्रिया