बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित अटो – सिटी सफारीले बजार क्षेत्र अस्तव्यस्त बनाएको छ । आवश्यकताभन्दा धेरै अटो –सिटीले बिर्तामोडको सडक क्षेत्रमा आवातजावत नै अस्तव्यस्त बनाइरहेका छन् ।
पैदलयात्रीदेखि मोटरसाइकल, साना सवारी, बससहित अन्य सवारीका चालहरुले अटो–सिटीले सडक क्षेत्र नै कब्जा गरेको प्रतिक्रिया दिदैं आएका छन् । उनीहरुले ट्राफिक ज्ञान अभावका कारण जताततै घुमाउँदा दुर्घटनाको जोखिम बढिरहेको छ ।

अव्यवस्थित रुपमा सञ्चालन भइरहेको अटो सिटी सफारी व्यवस्थापनमा सरोकारवाले चिन्ता व्यक्त गर्न थालेका छन् । अटो–सिटी सफारी क्षेत्रमा नेतृत्व बिहीन हुँदा व्यवस्थापनमा कठिनाई भइरहेको छ । झापा जिल्लाभरका अटो–सिटी बिर्तामोडमा केन्द्रीत भई सञ्चालन भइरहेको छ । बजारमा चहलपहल धेरै भएकाले अटो–सफारी बिर्तामोडमा केन्द्रीत भएको हो । सहजै दर्ता हुने भएपछि सञ्चालन गर्नेहरुको संख्या बढ्दो छ ।
यातायात व्यवस्था कार्यालय मेचीको पछिल्लो तथ्याङक अनुसार १२ हजार वटा सिटी सफारी दर्ता गरिएको छ भने १० हजार अटो दर्ता गरी सञ्चालनमा आएका छन् । त्यसमध्ये सिटी चलाउने २८ सय २४ जनासँग मात्रै लाइसेन्स छ । यस्तै, ५ हजार ४२ जनाले अटो सञ्चालनका लागि चालक अनुमति लिएका छन् ।
ट्राफिक प्रहरीका अनुसार २२ हजार अटो–सिटीमा करिव ७ हजार चालकले मात्रै लाइसेन्स बोकेका छन् । अन्य चालक विनालाइसेन्स सञ्चालन गर्दै आएका छन् । विना लाइसेन्स चलाउनेहरुका कारण दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरीको भनाई छ ।
झापा ट्राफिकका अनुसार बिर्तामोड क्षेत्रमा मात्रै ५ हजारभन्दा बढि अटो र सिटी सफारी सञ्चालनमा रहेको छ । जसका कारण सडक, बजार क्षेत्र अस्तव्यस्त बनिरहेको छ । अटो सिटीका कारण अस्तव्यस्त बनिरहेको सडक र बजार व्यवस्थापनमा ट्राफिक प्रहरीसहित सरोकारवालो चिन्ता व्यक्त गर्न थालेका छन् । बिर्तामोडका लागि आवश्यक मात्रै यहाँ सञ्चालन गर्न दिनुपर्ने कतिपयको भनाई छ ।
यहाँ सञ्चालित अटो सिटीमा भारतीय चालक समेत काम गरिरहेको स्थानीय चालक बचाउछन् । भारतीय चालकका कारण अपराध बढेको आरोप समेत लाग्ने गरेको छ । बिर्तामोड क्षेत्रमा अटो सिटी चलाउने स्थानीय चालकहरुले भारतीय चालकका कारण हुने अपराध कसले जिम्मा लिने भन्दै प्रतिप्रश्न गरिरहेका छन् ।
बिर्तामोड घर भएका राज खरेलले बाहिरबाट आउने अटो सिटीका कारण स्थानीयको आम्दानी नै प्रभावित भइरहेको बताएका छन् । उनले बिर्तामोड बाहिरका चालकहरु घर भाडा लिएर यहाँ अटो सिटी चलाउदै आएको बताए । बिर्तामोडको अस्तव्यस्ततालाई ध्यान दिदैं व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।







प्रतिक्रिया