मुख्य समाचार

भद्रपुरमा बैशाख २ गतेदेख प्रथम फर्कियो जोवन भेट्रान्स कप हुँदै

भद्रपुरमा बैशाख २ गतेदेख प्रथम फर्कियो जोवन भेट्रान्स कप हुँदै


भद्रपुर । झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
फर्कियो जोवन भेट्रान्स क्लब भद्रपुर–४ र ३ को आयोजनामा वैशाख २ गतेदेखि ४ गतेसम्म प्रतियोगिता हुने भएको हो । भद्रपुर–३ र ४ स्थित आपगाछी मेची ग्राउन्डमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका आठवटा टिमको सहभागिता रहने आयोजक फर्कियो जोवन भेट्रान्स क्लबका अध्यक्ष विश्व थापाले जानकारी दिनुभयो ।

मेची खोलाको किनारमा रहेको आपगाछी मेची ग्राउन्डको प्रचार–प्रसार एवं सम्बर्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । नयाँ वर्ष–२०८३ को अवसरमा हुन लागेको प्रतियोगितामा सात वटा खेलहरू हुनेछन् ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजन हुन लागेको प्रतियोगिता मार्फत लागुऔषध नियन्त्रण, उमेर बढ्दै गएपछि देखिने स्वास्थ्य समस्यालाई खेलकुदको माध्यमबाट नियन्त्रण गर्न सकिने भएकाले पनि खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लबका सचिव अभिषेक लिम्बुले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँ र दोस्रो हुने टिमले २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका उपाध्यक्ष संजीवकुमार राजवंशीले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २ हजार रूपैयाँ पाउनेछ भने अन्य विधागत खेलाडीले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य निर्माण व्यवसायी राजकुमार राई र दोस्रो पुरस्कारको सौजन्य समाजसेवी बमबहादुर कोइरालाले गर्नुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्न क्लबको संरक्षणका रूपमा रहेको भद्रपुर नगरपालिका, भद्रपुर वडा नम्बर–३, ओम साई पाथिभरा हस्पिटल, होटल एयरपोर्ट, कोकाकोला लगायत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले सहयोग गर्ने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गरी बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने जनाइएको छ । २०७९ सालमा स्थापना भएको क्लबमा हाल ३५ जना सदस्य रहेका छन् ।

शेयर गर्नुहोस :

54
Shares