Banner news

फुटवलमा सन्थाल खेलाडी : प्रशिक्षण पाए राष्ट्रियस्तरमा योगदान गर्न सक्ने

फुटवलमा सन्थाल खेलाडी : प्रशिक्षण पाए राष्ट्रियस्तरमा योगदान गर्न सक्ने


बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हालै सम्पन्न ‘सन्थाल गोल्डकप’ ले फुटबल क्षेत्रका अगुवा र खेलप्रेमीहरूको ध्यान खिचेको छ । कुनै व्यावसायिक प्रशिक्षण र ठूला क्लबहरूको सहयोग बिना नै सन्थाल समुदायका युवाहरूले मैदानमा देखाएको असाधारण कौशलले जिल्लाको फुटबल क्षेत्रमा नयाँ बहस सिर्जना गरिदिएको छ ।

गत चैत २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूको प्रदर्शन हेर्दा, यदि उनीहरूले उचित अवसर र प्रशिक्षण पाएमा राष्ट्रियस्तरको फुटबलमा ठूलो योगदान दिन सक्ने प्रष्ट देखिएको छ । झापा र मोरङका ६ वटा तथा पश्चिम बंगालका २ वटा टिम सहभागी रहेको गोल्डकपले ओझेलमा परेका प्रतिभाहरूलाई उजागर गरिदिएको छ ।

झापामा बर्सेनि दर्जनौँ ठूला गोल्डकप आयोजना हुन्छन्, तर ती प्रतियोगिताहरूमा सन्थाल खेलाडीहरूको उपस्थिति विरलै देखिन्छ । डोमालालको मैदानमा सन्थाल युवाहरूले देखाएको जोस र स्टामिनाले फुटबलका अगुवाहरूलाई नै सोच्न बाध्य बनाएको छ । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ स्वीकार गर्छन् – सन्थाल समुदायका खेलाडीहरू शारीरिक र मानसिक रूपमा फुटबलका लागि फिट छन् । ‘सन्थाल समुदायका युवाहरू असाध्यै अनुशासित छन् र उनीहरूको सहनशक्ति राम्रो छ । उनीहरू नथाकी लामो समय दौडिन सक्छन्, मामाले भने, ‘मुख्य समस्या आर्थिक अभाव हो । गरिबीका कारण धेरैले खेललाई निरन्तरता दिन सक्दैनन् ।’

जिल्ला फुटबल संघका अनुसार सन्थाल युवाहरू फुटबलमा मात्र नभई बक्सिङ र एथलेटिक्समा पनि उस्तै प्रतिभाशाली छन् । अध्यक्ष मामाकै पहलमा तीन जना सन्थाल बालबालिकाले एन्फा एकेडेमी रौतहट र सहारा एकेडेमी पोखरा मा कक्षा १२ सम्मको निःशुल्क शिक्षासहित फुटबल प्रशिक्षण लिइरहेका छन् । व्यक्तिगत प्रयासले मात्रै सबै प्रतिभालाई समेट्न नसकिने उनको भनाई छ ।

झापा गोल्डकपका गजेन्द्र पौडेलले सन्थाल गोल्डकपको स्तर हेरेपछि उनीहरूको प्रशिक्षणका लागि वातावरण तयार गर्न आफूहरू सकारात्मक रहेको बताए । ‘हाम्रो जिल्लामा यति धेरै सम्भावना बोकेका खेलाडीहरू रहेछन्, अब उनीहरूलाई कसरी मूलधारमा ल्याउने भन्नेबारे हामी योजना बुन्छौँ,’ पौडेलले प्रतिबद्धता जनाए ।

सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोडका अध्यक्ष टिका हस्दाका अनुसार समुदायमा फुटबलप्रतिको क्रेज ठूलो भए पनि सरकारी तहबाट प्रोत्साहनको कमी छ । थोरै मात्र सहयोग पाए पनि धेरै सन्थाल युवाहरुले देशको नाम राख्न सक्ने उनको विश्वास छ ।

अहिले पनि श्याम मुर्मुजस्ता सिमित खेलाडीहरूले स्थानीय नकआउट प्रतियोगिताहरूमा आफ्नो जादु देखाइरहेका छन् । यद्यपि, जिल्लाका ठूला क्लबहरूले यी प्रतिभालाई चिन्न र समेट्न नसक्नु विडम्बनापूर्ण रहेको खेल बताइन्छ । सन्थाल खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुराउन अब सरकार र ठूला क्लबहरूले विशेष प्याकेज र प्रशिक्षण कार्यक्रम ल्याउनपर्ने खेलक्षेत्रका अगुवाहरुको धारणा छ ।

शेयर गर्नुहोस :

1.3k
Shares