सम्पादकीय
झापाको व्यापारिक केन्द्र बिर्तामोड यतिबेला अटो र सिटी सफारीको अनियन्त्रित चापका कारण कुरूप र जोखिमपूर्ण बन्दै गएको छ । सडकको क्षमताभन्दा बढी सवारी साधन, त्यसमाथि ट्राफिक नियमको शून्य ज्ञान भएका चालकहरूको दबदबाले पैदलयात्रीदेखि अन्य सवारी चालकसम्म आजित भएका छन् । तथ्याङकले देखाएको भयावह अवस्था र सडकको वास्तविकताले अब ‘पर्ख र हेर’ को अवस्था नरहेको प्रष्ट पार्छ । यातायात व्यवस्था कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा झण्डै २२ हजार अटो र सिटी सफारी दर्ता छन् । चालक अनुमति पत्र (लाइसेन्स) भएका चालकको संख्या भने निकै न्यून छ । बिर्तामोडमा मात्रै दैनिक गुड्ने ५ हजारभन्दा बढी यस्ता सवारीमध्ये अधिकांश लाइसेन्सविहीन छन् ।
चालकले विना लाइसेन्स चलाउनु यात्रुको सुरक्षामाथिको गम्भीर लापरबाही हो । लाइसेन्स नहुनुको अर्थ उनीहरूमा ट्राफिक नियमको आधारभूत ज्ञान छैन भन्ने हो । जसका कारण सडकमा जताततै सवारी घुमाउने र जथाभाबी रोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिमलाई बढवा दिइरहेको छ । अर्को संवेदनशील पाटो भनेको व्यवस्थापनमा देखिएको नेतृत्वविहीनता र गैरस्थानीय तथा भारतीय चालकहरूको अनियन्त्रित प्रवेश पनि हो । रोजगारीका नाममा सुरक्षा चुनौती र आपराधिक गतिविधि बढ्ने जोखिमलाई नजरअन्दाज गर्न हुदैन । स्थानीय चालकहरूको आम्दानी प्रभावित हुनु र बाहिरबाट आएका सवारीको भिडले सहर नै अस्तव्यस्त हुनुले बिर्तामोड नगरपालिका र ट्राफिक प्रहरीको समन्वयकारी भूमिकामाथि पनि प्रश्न उठाएको छ ।
अब बिर्तामोडमा सडक क्षमता अनुसार निश्चित संख्यामा मात्र अटो–सिटी सञ्चालन गर्न पाउने गरी ‘ रुट परमिट’ वा ‘कोटा प्रणाली’ लागू गर्नुपर्छ । यसका लागि सरोकारवालाबीचमा समन्वय गर्न अपरिहार्य छ । यहाँको दैनिक जीवनलाई नै प्रभावित बनाउने संख्या आवश्यक छैन । यस तर्फ ध्यानाकर्षण हुनुपर्छ । विना लाइसेन्स सवारी चलाउनेलाई पूर्णतः रोक लगाउनु पर्छ । सुरक्षाका दृष्टिले चालकको पहिचान खुल्ने गरी परिचयपत्र अनिवार्य गरिनुपर्छ । सडक कब्जा गरेर बस्ने प्रवृत्ति अन्त्य गर्न निश्चित र व्यवस्थित पार्किङ स्थल तोकिनुपर्छ । बिर्तामोडलाई व्यवस्थित र सुरक्षित सहर बनाउन स्थानीय सरकार र सरोकारवाला निकायले तत्काल ठोस नीति ल्याउनु अपरिहार्य छ । यो अस्तव्यस्तताले भविष्यमा ठुलो मानवीय र भौतिक क्षति निम्त्याउने निश्चित छ । क्षति रोक्नका लागि आजैबाट व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।







प्रतिक्रिया