Banner news

‘आपतकाल’ घोषणा गर्न झापाली निर्माण व्यवसायीको माग

‘आपतकाल’ घोषणा गर्न झापाली निर्माण व्यवसायीको माग


झापा । निर्माण व्यवसायी संघ झापाले निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेका छन् । निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र ठप्प हुने स्थितिमा पुगेको कारण सरकारले तत्काल ‘आपतकाल’ घोषणा गरी निर्माण व्यवसायीहरूलाई राहत दिन माग गरेका हुन् ।

झापाको बिर्तामोडमा रहेको संघको भवनमा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै संघले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने निर्माण सामाग्रीमा अत्यधिक मूल्यवृद्धिले निर्माण उद्योग दिन प्रतिदिन धरायशी बन्दै गएको कारण ‘आपतकाल’ घोषणा गरी सरकारले व्यवसायीहरूलाई अविलम्ब राहत दिनुपर्छ ।

विज्ञप्तिमा भनिएको छ, डिजेल, पेट्रोले, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिले साथै नदीजन्य निर्माण सामग्रीहरू खोलाबाट निकाल्न नपाउनु, व्यक्तिगत जग्गाबाट खरिद गरिएका ढुङ्गा, गिटी, बालुवा ओसारपसारमा स्थानीय निकाय र सुरक्षा निकायको धरपकड हुनाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकोप्रति यस निर्माण व्यवसायी संघ झापा, नेपाल सरकार सहित सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

त्यसैगरी इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेन्ट, डन्डी लगायत नदीजन्य निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको छ । यस बाहेक देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्या, कतिपय स्थानीय निकायमा काम सम्पन्न गरेता पनि भुक्तानी नपाउनु (समयमै रकमान्तर नहुनु) साथै धेरै व्यवसायीहरूले २०८०-०८१ देखि को पूर्वाधार विकास कार्यालय झापाबाट हालसम्म भुक्तानी नपाउनुले निर्माण व्यवसायीहरू थप आक्रान्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकार लगायत सम्बन्धित निकायहरूमा पत्राचार गरे तापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएको ब्यहोरा भनिएको छ । वार्षिक ठेक्काको कुनै पनि मुल्य समायोजन राख्ने प्रावधान नहुन र मुल्य समायोजन हुने बहुवर्षिय ठेक्काको मूल्य समायोजन राष्ट्र बैङ्कको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्यधिक मूल्यवृद्धि भए तापनि राष्ट्र बैङ्कको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको जनाइएको छ ।

अतः निर्माण कार्य तीव्र रुपमा हुने समयमा नै इन्धन सामग्रीसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेको अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी व्यवसायीहरूलाई अविलम्ब राहत दिन यस जिल्ला संघ जोडदार माग गर्दछ ।

साथैः प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरूप हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुने नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न निर्माण व्यवसायी संघ झापा सरकार समक्ष अपील गर्दछ ।

शेयर गर्नुहोस :

243
Shares