Banner news

झापाको बाह्रदशीमा १६ करार शिक्षकको जागिर धरापमा

झापाको बाह्रदशीमा १६ करार शिक्षकको जागिर धरापमा


झापा । झापाको बाह्रदशी गाउँपालिकामा कार्यरत १६ जना करार शिक्षकको जागिर धरापमा परेको छ । गाउँपालिकाले उनीहरूलाई उपलब्ध गराउँदै आएको तलव, भत्ता वा अन्य सुविधाहरू उपलब्ध गराउन नसकिने पत्र विद्यालयलाई पठाएको छ ।

नयाँ शैक्षिक सत्र २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी गाउँपालिकाको अनुदानबाट पारिश्रमिक पाउँदै आएका १६ जना करार शिक्षकहरूको तलव र भत्ता कटौती गर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको चैत ३० गते बसेको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ, देशको विद्यमान आर्थिक परिस्थिति, गाउँपालिकाको बढ्दो आर्थिक दायित्व र आन्तरिक स्रोतको सीमितताको कारण उक्त व्ययभार निरन्तर वहन गर्न नसकिने अवस्था सिर्जना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार स्वीकृत दरबन्दी बाहेक थप व्ययभार व्यहोर्न नसकिने अवस्था सिर्जना भएको पालिकाको भनाइ छ ।

यो निर्णय अनुसार अबदेखि गाउँपालिकाले ती शिक्षकहरूलाई कुनै पनि प्रकारको पारिश्रमिक वा सुविधा उपलब्ध गराउने छैन । पत्र अनुसार सम्बन्धित विद्यालयहरूले ती शिक्षकहरूको सेवालाई निरन्तरता दिन चाहेमा आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ । विद्यालयले सेवा निरन्तरता दिएका शिक्षकहरूको सम्पूर्ण आर्थिक र प्रशासनिक दायित्व अब विद्यालय स्वयंको हुनेछ र यसमा गाउँपालिकाको कुनै पनि वित्तीय जवाफदेहिता रहने छैन ।

गाउँपालिकाको निर्णयबाट हेमन्त राजवंशी, रिता देवि राजवंशी, राजन दुलाल, खेममाया राई, मनिराज प्रसाई, रेणुका बस्नेत, पवित्रा राजवंशी, दीपा देउजा, एन्जिला मैनाली, तीर्थराज दुलाल, प्रतिमा राजवंशी, हिमा देवी दाहाल, मनोज खतिवडा, नज्मा बेगम, नगिना खातुन र जयन्ती कुमारी शाह गरी १६ जना शिक्षकको जागिर धरापमा परेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाद्वारा जारी गरिएको पत्रमार्फत सबै सम्बन्धित विद्यालयहरूलाई यसबारे औपचारिक जानकारी गराइसकेको छ । करार शिक्षकका सन्दर्भमा गाउँपालिकाले गरेको निर्णयले विद्यालयको आन्तरिक व्यवस्थापनमा चुनौती थप्ने जनाइएको छ । सोही गाउँपालिकामा ८४ जना करारका कर्मचारीहरू कार्यरत रहेका छन् ।

यसबारे थप कुराकानी गर्न प्रमुख प्रशासकीय अधिकृत थपलियालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । बाह्रदशी गाउँपालिकाले निर्णय गरेको तीन दिनअघि प्युठानको स्वर्गद्वारी नगरपालिकाले १५ जना शिक्षकका लागि सूचना आह्वान गरेको थियो । अनुदानमा शिक्षक पदपूर्ति सम्बन्धी सूचना प्रकाशन गर्दै सामुदायिक विद्यालयका लागि शिक्षक माग गरिएको हो । एकै ऐनबाट सञ्चालित पालिकाका फरक-फरक निर्णयले सर्वसाधारणलाई भने अन्यौल बनाएको छ ।

शेयर गर्नुहोस :

459
Shares