बिर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्ति चोकमा अज्ञात समूहले नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा क्षति पुराउँदा सयौं सेवाग्राही प्रभावित भएका छन् ।
आज राति करिब २ः३१ बजेको समयमा अज्ञात व्यक्तिहरूले तामाको केबल चोरी गर्न एफटिटिएच सेवाका लागि प्रयोग हुने एफडीसी ००१ का चार वटा २४– कोर फाइबर केबलहरू ह्याक्सो ब्लेडले काटिएको अवस्थमा फेला परेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको अत्यन्तै संवेदनशील मानिने मुक्ति चोक क्षेत्रमा भएको चोरीले इन्टरनेट र टेलिफोन सेवा प्रभावित भएको हो ।
केबल काटिएका कारण बिर्तामोड क्षेत्रका ५ सयभन्दा बढी घरधुरी तथा व्यावसायिक प्रतिष्ठानहरूको इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । अत्यावश्यक दूरसञ्चार सेवा बन्द हुँदा यस क्षेत्रका बैंक, वित्तीय संस्था र व्यापारिक संस्थाहरूको दैनिक कार्य सम्पादनमा प्रत्यक्ष असर पर्नुका साथै नेपाल टेलिकमलाई ठुलो आर्थिक नोक्सानी भएको जनाइएको छ । फाइबर केबल काट्न अपराधीहरूले करिब एक घण्टा समय खर्चिएको देखिए पनि सो अवधिभर सुरक्षा निकाय वा निगरानीको उपस्थिति नदेखिएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकम बिर्तामोडका इन्जिनियर काजिमान विश्वकर्माले सार्वजनिक सम्पत्तिमाथि भइरहेको यस्तो संगठित तोडफोड र चोरीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँका अनुसार यसअघि पनि पटक–पटक यस्ता घटनाका बारेमा सुरक्षा निकायलाई जानकारी गराउँदा समेत अपेक्षित सुरक्षा व्यवस्था हुन नसक्दा अपराधीहरूको मनोबल बढेको देखिन्छ ।
टेलिकम प्रशासनले यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिई दोषीको तत्काल पहिचान गर्न र उनीहरूलाई कडा भन्दा कडा कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ । टेलिकमका अनुसार अवरुद्ध भएको सेवा सञ्चालन हुन थालेको छ ।







प्रतिक्रिया