Banner news

करार शिक्षकको रोजीरोटी खोस्नु गलत, बाह्रदशीको निर्णयप्रति कडा आपत्ति

करार शिक्षकको रोजीरोटी खोस्नु गलत, बाह्रदशीको निर्णयप्रति कडा आपत्ति


झापा । झापाको बाह्रदशी गाउँपालिकाले करारमा कार्यरत शिक्षकहरूलाई सेवाबाट हटाउने गरी गरेको निर्णयप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालयले गत  चैत ३० गते करार शिक्षकहरूको पारिश्रमिक तथा सेवा निरन्तरता सम्बन्धमा जारी गरेको पत्रप्रति संगठनको बाह्रदशी गाउँ कमिटीले कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको हो ।

शिक्षक संगठनले गाउँपालिकाको यो निर्णयलाई अदूरदर्शी, अमानवीय र शैक्षिक भविष्यमाथि खेलबाड गर्ने प्रकृतिको भनी टिप्पणी गरेको छ । विगत लामो समयदेखि गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिमा ऊर्जावान् समय खर्चेका शिक्षकहरूलाई शैक्षिक सत्रको अन्त्यमा आएर विना कुनै विकल्प र पूर्वतयारी सेवाबाट हटाउनु न्यायोचित नभएको संगठनको ठहर छ । आर्थिक दायित्व र बजेटको अभाव देखाएर शिक्षकहरूको रोजीरोटी खोस्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

देशभर शिक्षकको दरबन्दी अभावले शिक्षण सिकाइ प्रभावित भइरहेका बेला कार्यरत शिक्षकहरूलाई नै हटाउँदा सामुदायिक विद्यालयको पठनपाठन ठप्प हुने र विद्यार्थीहरूको भविष्य अन्धकारमा धकेलिने निश्चित रहेको संगठनले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रलाई मात्र आधार बनाएर स्थानीय आवश्यकता र संवेदनशीलतालाई नजरअन्दाज गरिनु दुःखद पक्ष रहेको संगठनका अध्यक्ष शिवप्रसाद पोखरेल र सचिव लोचन गुरागाईंले बताउनुभएको छ ।

संगठनले बाह्रदशी गाउँपालिकालाई उक्त अविवेकपूर्ण निर्णय तुरुन्त फिर्ता लिन र कार्यरत करार शिक्षकहरूको सेवालाई पूर्ववत् रूपमा निरन्तरता दिँदै उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गरेको छ । पीडित शिक्षकहरूको न्याय र शैक्षिक अधिकारका लागि नेपाल राष्ट्रिय शिक्षक संगठन सधैँ अग्रपङ्क्तिमा रहने प्रतिबद्धता समेत विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

 

शेयर गर्नुहोस :

27
Shares