Banner news

नगरपालिका–बाणिज्य संघको साझेदारीमा चारआलीमा ‘सब्जी मण्डी’ बन्दै

नगरपालिका–बाणिज्य संघको साझेदारीमा चारआलीमा ‘सब्जी मण्डी’ बन्दै


मेचीनगर, ५ वैशाख । चारआलीमा वर्षौंदेखि व्यवस्थित सब्जी मण्डीको माग गरिरहेका व्यवसायीहरूले अब राहत पाउने भएका छन् ।

व्यवसायीहरूको गुनासोलाई ध्यानमा राखेर मेचीनगर नगरपालिकाले उक्त मागलाई सम्बोधन गरिदिने भएका हुन् ।
चारआलीमा व्यवस्थित सब्जी मण्डीका लागि नगरपालिका र मेची उद्योग बाणिज्य संघबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, १३ नम्बर वडाका वडाध्यक्ष कृष्णराज सिग्देल तथा मेची उद्योग बाणिज्य संघका तर्फबाट अध्यक्ष खेमराज प्रसाईं, कार्यकारी निर्देशक गोपाल वस्नेतको हस्ताक्षर रहेको छ ।

नगरपालिकाले मेचीनगर–१३ स्थित चारआली चौकदेखि दक्षिण भद्रपुर रोड जाने सडकको पुरानो आइतबारे हटियाको १६ कठ्ठा १४ धुर जग्गामा सब्जी मण्डी राख्न बाणिज्य संघलाई सहमति दिएको छ ।

सम्झौतामा नगरपालिकाको सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तरगत संघले सब्जी मण्डी निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न लागि बार्षिक ६ लाख ३५ हजार रूपैयाँ तिर्नु पर्ने छ ।

सहमति अनुसार संघले टहरा र पार्किङ निर्माण गर्नु पर्नेछ भने नगरपालिकाले जग्गा लेवलिंग, कल्भर्ट निर्माण, विद्युत, खानेपानी र सीसी क्यामेरा जडान गरिदिने छ । संघले समिति गठन गरेर सब्जी मण्डी सञ्चालनसँगै व्यवसाय दर्ता गरेर व्यवसाय गर्न, पार्किङ, सरसफाइ, खानेपानी, सीसी क्यामेरा मर्मत गर्नु पर्नेछ ।

स्थानीय तरकारीको उत्पादनमा वृद्वि गर्न, प्रोत्साहन गर्न, सुरक्षित तथा व्यवस्थित तरकारी बजार व्यवस्थापन गर्न, स्थानीयमा उत्पादन गरिएको तरकारीको न्यूनतम मूल्य निर्धारण गरि कृषकको बजारमा पहुँच वृद्वि गर्ने नगरपालिका–बाणिज्य संघको उदेश्य रहेको छ ।

संघले चारआलीका कार्यसमिति सदस्य मानकुमार कटुवालको नेतृत्वमा स्थानीय सब्जी व्यवसायीहरूको सहयोगमा टहराहरू निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

टहरामा करिव २५ वटा कोठा रहने गरि फलामका पोल र ट्रष्ट लगाउने, माटो सम्याउने, नाला, कल्भर्ट, स्ल्याब, सोलिङ लगायतका निर्माणका काम भइरहेको छ । वडाध्यक्ष सिग्देलले यो सब्जी मण्डी बनेपछि स्थानीय व्यवसायीलाई धेरै राहत मिल्ने बताएका छन् ।

यसअघि १४ वर्षदेखि अव्यवस्थित रूपमा मेचीनगर–१२ को चारआली स्थित सब्जी मण्डी सञ्चालनमा रहेको छ । यहाँको सब्जी मण्डीमा इलाम लगायतका पहाडी जिल्लाबाट व्यापारीले तरकारीहरू ल्याउने गर्दछन् । मण्डीमा ल्याइएका सब्जीहरू व्यवसायीहरुले स्थानीय बजार तथा विराटनगर, इटहरी, धरान लगायतका ठाउँहरूमा लाने गर्दछन् ।

शेयर गर्नुहोस :

135
Shares