बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले वडा प्रहरी कार्यालय भद्रपुर झापामा कार्यरत प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङलाई २०८२ साल चैत्र महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । तामाङले आफ्नो पदीय जिम्मेवारीलाई उच्च मनोबल र साहसका साथ निर्वाह गर्दै लागू औषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा देखाएको विशेष सक्रियताका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । 
विशेष गरी ‘अपरेसन ब्राउन’ अन्तर्गत उनले भद्रपुर क्षेत्रमा लागू औषधविरुद्ध चलाएको अभियान निकै प्रभावकारी देखिएको छ । यस अवधिमा लागू औषध सम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई पक्राउ गर्नुका साथै तामाङको नेतृत्वमा ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर र ३ लाख नगद बरामद गरिएको थियो । यसका अतिरिक्त भन्सार छलीका १० लाख ४७ हजार बराबरका अवैध सामानहरू बरामद गर्दै विभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक तामाङले शान्ति सुरक्षाको क्षेत्रमा मात्र नभई भौतिक पूर्वाधार विकास र व्यवस्थापनमा पनि उत्तिकै तत्परता देखाएका छन् । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त वडा प्रहरी कार्यालय भद्रपुरको भवन, ब्यारेक, फर्निचर र विद्युतीय सामग्रीको मर्मत तथा व्यवस्थापनका लागि स्थानीय निकाय र विभिन्न संघ–संस्थासँग समन्वयकारी भूमिका निर्वाह गरेका छन् ।
यसका साथै प्रहरी चौकी मेचीपारीका लागि नयाँ जग्गा प्राप्ति र वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माणका लागि उनले गरिरहेको निरन्तर पहल र सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिकमा सुरक्षाको अनुभूति दिलाउन खेलेको भूमिकाको कदर गर्दै उनलाई चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरीको रूपमा सम्मान गरिएको हो ।







प्रतिक्रिया