Banner news

भारतमा विधानसभा निर्वाचन: नेपाल-भारत सीमा २३ अप्रिलसम्म सिल

भारतमा विधानसभा निर्वाचन: नेपाल-भारत सीमा २३ अप्रिलसम्म सिल


झापा । पश्चिम बंगाल विधानसभाको २०२६ को आम निर्वाचनलाई लक्षित गर्दै भारतले नेपालसँगको सीमा नाका चार दिनका लागि बन्द (सिल) गरेको छ।

दार्जिलिङ जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमा यही वैशाख १० गते (२३ अप्रिल २०२६) हुन गइरहेको मतदानलाई शान्तिपूर्ण र व्यवस्थित बनाउने उद्देश्यले सीमामा कडाइ गरिएको हो। दार्जिलिङका जिल्ला दण्डाधिकारी तथा जिल्ला निर्वाचन अधिकारी हरिशंकर पनिकरले जारी गरेको आदेशअनुसार २० अप्रिल साँझ ६ बजेदेखि २३ अप्रिलमा मतदान प्रक्रिया सम्पन्न नभएसम्मका लागि सीमा नाका बन्द रहने छन्।

भारतीय नागरिक सुरक्षा संहिता (BNSS) २०२३ को दफा १६३ (२) बमोजिम जारी गरिएको यस आदेशले नेपाल र बंगलादेशतर्फको मानिस तथा सवारी साधनको आवागमनमा पूर्णतः प्रतिबन्ध लगाएको छ। यद्यपि, केही विशेष परिस्थितिमा भने आवागमनलाई खुला राखिएको छ।

आकस्मिक उपचारका लागि जाने बिरामीहरूलाई भारत प्रवेश वा नेपालतर्फ जान छुट दिइएको छ भने वैध यात्रा कागजात भएका विदेशी वा भारतीय पर्यटकहरूले आफ्नो गन्तव्यतर्फ यात्रा गर्न सक्नेछन्।

त्यसैगरी, तरकारी र फलफूलजस्ता नाशवान् र अत्यावश्यक वस्तु बोकेका सवारी साधनहरूलाई सुरक्षा जाँचपछि मात्र सञ्चालन हुन दिइनेछ। दार्जिलिङ जिल्लाका दार्जिलिङ, कुर्सियाङ, माटीगरा–नक्सलबारी, सिलिगुडी र फाँसिदेवा निर्वाचन क्षेत्रका मतदाताहरूले आवश्यक कागजात पेश गरेर मतदानका लागि आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

भारतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सीमा सिल गर्ने निर्णय लिएपछि सीमावर्ती जिल्ला झापाको जनजीवनमा समेत यसको प्रभाव पर्ने देखिएको छ। प्रशासनले यससम्बन्धी सूचनाको व्यापक प्रचार–प्रसार गर्न र सर्वसाधारणलाई निर्वाचन अवधिभर सीमा वारपारको अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ।

शेयर गर्नुहोस :

243
Shares