बिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बगान क्षेत्रबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषधको अवैध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा, अस्थायी प्रहरी पोस्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
बिहीबार बिहान ४ बजेको समयमा सो क्षेत्रमा पुगेको प्रहरी टोलीले खानतलासीका क्रममा ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको छ। बरामद लागुऔषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा जोख्दा प्लाष्टिकको तौलबाहेक २७ ग्राम ८३० मिलिग्राम पुगेको छ।
प्रहरीले अर्जुनधारा नगरपालिका–११ का २५ वर्षीय संजोग राई, सोही ठाउँका २५ वर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई नियन्त्रणमा लिएको हो। उनीहरूले प्रयोग गर्दै आएको बा ४० प ३९९४ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया