बिर्तामोड । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ । आयोजक बुट्टाबारी युनाइटेड र उदयपुरको ब्रदरहुड एफसी फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन् ।
बुट्टाबारीले क्वाटरफाइनलमा भारतको तरञ्जुबारी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने ब्रदरहुडले क्वाटरफाइनलमा झापाको जलथललाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
फाइनल प्रवेशका लागि हुने यो भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । खेल बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतियोगितामा आज स्पेशल गेस्टको रुपमा राष्ट्रिय महिला फुटबल खेलाडी अञ्जना राना मगरको उपस्थिति रहने आयोजकले बताएको छ ।
प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने आयोजकले जनाएको छ। विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ। उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक बुट्टाबारी युनाइटेडका अध्यक्ष प्रविन राईले जानकारी दिए।
प्रतियोगिताको टाइटल स्पोन्सर खेलकुद कपडाको ब्रान्ड ‘एनी’ रहेको छ भने बिर्तामोड नगरपालिकाले पहिलो पुरस्कार तथा कनकाई अस्पतालले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजकका संस्थापक अध्यक्ष हिमाल कन्दङ्वाले बताए।







प्रतिक्रिया