बिर्तामोड । पछिल्लो एक महिनाको अन्तरालमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पटक–पटक समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको भाउ अस्वाभाविक रूपमा बढाएको छ ।
यसले गर्दा सार्वजनिक यातायातको भाडा र ढुवानी लागतमा भारी वृद्धि भएको छ, जसको भार अन्ततः आम उपभोक्ताको भान्सासम्म आइपुगेको छ ।
बजारमा दैनिक उपभोग्य खाद्यान्न, दाल, चामल, खानेतेल र मसलाको मूल्यमा भएको वृद्धिले सर्वसाधारणको जीवनयापन कष्टकर बनेको छ । खुद्रा व्यापार संघको तथ्यांक अनुसार ताइचिन चिउरा, मुङ गेडा, विभिन्न प्रकारका चामल र तोरीको तेलको मूल्यमा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको छ ।
अर्कोतर्फ, तरकारी र फलफूलको मूल्यमा पनि दोब्बरसम्मको वृद्धि भएको छ । यद्यपि, होलसेल बजारमा केही वस्तुको आपूर्ति र मूल्य सामान्य रहे पनि खुद्रा बजारमा भने व्यापारीहरूले ढुवानी खर्च बढेको बहाना बनाउँदै अचाक्ली मूल्य असुलिरहेका छन् ।
यसका साथै पिउने पानी उद्योगहरूले पनि कच्चापदार्थको अभाव र ढुवानी लागत बढेको कारण देखाउँदै मूल्य बढाउने तयारी गरिरहेका छन् । सरकारले सार्वजनिक यातायातको भाडादरमा २५ प्रतिशतभन्दा बढीले वृद्धि गरेसँगै मालवाहक ट्रक र लामो दुरीका सवारीको भाडा पनि बढेको छ ।
एकातिर अन्तर्राष्ट्रिय बजारको कारण देखाउँदै निगमले आफू घाटामा रहेको दाबी गरिरहेको छ भने अर्कोतिर कृत्रिम अभाव र प्रभावकारी अनुगमनको अभावमा बजारमा कालोबजारी फस्टाएको छ । किसानले आफ्नो उपजको उचित मूल्य नपाउने तर उपभोक्ताले भने चर्को महँगी खेप्नुपर्ने यो दोहोरो मारले बजार प्रणालीमा देखिएको गम्भीर विचलन र सरकारी हस्तक्षेपको फितलोपनलाई छर्लङ्ग पारेको छ ।







प्रतिक्रिया