Banner news

चालक नै ‘लापसे र मापसे’ मा लठ्ठ, कारबाहीका लागि दमक पठाइयो

चालक नै ‘लापसे र मापसे’ मा लठ्ठ, कारबाहीका लागि दमक पठाइयो


दमक । झापामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक र सहचालकहरूलाई लक्षित गरी आज स्वास्थ्य तथा यान्त्रिक परीक्षण गरेको छ । झापाको दमक नगरपालिका–४ ताराबारीमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको हो ।

सडक सुरक्षा र यात्रुहरूको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले चालक तथा सहचालकहरूको स्वास्थ्य अवस्था र सवारी साधनको यान्त्रिक अवस्थाको जाँच गरिएको थियो ।

ट्राफिक जाँचका लागि रोकिएका सार्वजनिक सवारी

५४ जना चालक तथा सहचालकहरूको लागुपदार्थ सेवन (लापसे) जाँच गरिएको थियो । जसमध्ये ३ जना चालक र २ जना सहचालक गरी ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

जाँचका क्रममा २ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका छन् । रिपोर्ट पोजेटिभ देखिएका र मादक पदार्थ सेवन गर्ने चालक तथा सहचालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिका र दमक अस्पतालको सहकार्य तथा इलाका प्रहरी कार्यालय दमक, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र ट्राफिक प्रहरी कार्यालय दमकको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

शेयर गर्नुहोस :

216
Shares