शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आयोजना हुन लागेको ‘श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक श्रीलक्ष्मीनारायण योगीराज श्रीकमलनयनाचार्य आश्रमले भोलि वैशाख ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवका सबै व्यवस्थापन कार्य सम्पन्न भएको जनाएको छ।

महोत्सव उद्घाटनका लागि भव्य तयारी गरिएको छ। भक्तजनहरूका लागि कथा श्रवणस्थल (पण्डाल), प्रवेशद्वार (गेट) तथा मन्दिर सजावटलगायतका संरचना तयार भइसकेका छन्। उद्घाटन समारोह कोशी प्रदेश प्रमुख हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न हुने आयोजकले जनाएको छ। सो अवसरमा कलश यात्रासहित अर्जुधारा जलेश्वरधामबाट ल्याइएको पवित्र जल अर्पण गर्ने कार्यक्रम तय गरिएको छ।
महोत्सव अवधिभर श्रीराम कथा प्रवचन, ध्वजारोहण, मृदाहरण, पञ्चकुण्डात्मक हवन, महासम्प्रोक्षण, प्रतिष्ठा पूर्वाङ्ग, वास्तुपूजन, स्तुति–प्रार्थना, जलाधिवास, विग्रह कलाकर्षण, स्नपन तथा अभिषेकजस्ता विविध धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्।
समारोहका प्रमुख आचार्यका रूपमा भारतको तमिलनाडु राज्यको काञ्चीपुरमस्थित श्रीकाञ्चीप्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिशत श्री श्रीविनासाचार्य गादी स्वामीजी महाराजको उपस्थिति रहनेछ। उहाँकै मुखारविन्दबाट श्रीराम कथा प्रवचन हुने वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म नेपाल तथा भारतबाट करिब १,५०० भक्तजन समारोहस्थलमा आइपुगेका छन् र उनीहरूको भोजन तथा आवासको व्यवस्था गरिएको छ।
महोत्सवमा दैनिक दशौँ हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। करिब २,००० भक्तजनका लागि आवास तथा प्रसाद व्यवस्थापन गरिनेछ भने सहभागी सबैलाई प्रसाद वितरण गरिने आयोजकले जनाएको छ। नेपालका साथै भारत, भुटान, अष्ट्रेलिया, अमेरिका र क्यानाडाबाट धर्मगुरु, आचार्य तथा विद्वानहरूको सहभागिता रहने बताइएको छ। कार्यक्रम सम्पन्न गर्न करिब २ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। शिवसताक्षी नगरपालिकाले दिव्यदेश महासम्प्रोक्षणका लागि नगरपालिका भरी भोली विदा गरेको जनाएको छ ।
वि.सं. २०२८ मा स्थापना भई वि.सं. २०५१ मा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको यस संस्थाले नेपालका प्रथम जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मार्गदर्शनमा धर्म, शिक्षा र समाजसेवामा योगदान दिँदै आएको छ।
संस्थाले हाल श्रीलक्ष्मीनारायण मन्दिर, योगीराज स्वामीजीको कुटी मन्दिर, कक्षा १० सम्म अध्ययन हुने श्रीअनन्त आदर्श संस्कृत वेद विद्यालय, गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय तथा यज्ञमण्डप सञ्चालन गर्दै आएको छ।
मूल मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०७८ वैशाख १६ गते दक्षिण भारतीय स्थापत्य शैलीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ निर्माणको शिलान्यास गरिएको थियो। करिब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा हालसम्म ११ करोड रुपैयाँ खर्च भइसकेको छ भने केही निर्माण कार्य अझै बाँकी रहेको मन्दिर निर्माण समितिले जनाएको छ।
निर्माण कार्य मुख्यतः भक्तजन तथा स्थानीय दाताहरूको सहयोगमा सम्पन्न हुँदै आएको छ। भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकारले हालसम्म ६० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ भने स्थानीय तहबाट १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ।
भारतको तिरुपति मन्दिरमा दर्शनका लागि जानुपर्ने बाध्यता कम गर्दै माइधारस्थित यस नवनिर्मित ‘दिव्यदेश’ अब सहज धार्मिक गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया