Banner news

झापामा लागुऔषध विरुद्ध प्रहरीको विशेष ‘स्वीप अपरेशन’: ६२ जना पक्राउ

झापामा लागुऔषध विरुद्ध प्रहरीको विशेष ‘स्वीप अपरेशन’: ६२ जना पक्राउ


दमक – झापामा लागुऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले चलाएको विशेष ‘स्वीप अपरेशन’ अन्तर्गत एकै दिन ६२ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी एकाइहरूद्वारा सञ्चालित सो अभियानका क्रममा १० वैशाखमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले यस कारवाहीका क्रममा २० ग्राम ४० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र नगद नौ हजार रुपैयाँ समेत बरामद गरेको छ।

यसैबीच, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले दमक नगरपालिका र दमक अस्पतालसँगको सहकार्यमा दमक–४ ताराबारीमा सार्वजनिक सवारीका चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण गरेको छ।

सडक दुर्घटना न्यूनीकरण र अनुशासन कायम गर्ने उद्देश्यले ५४ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्दा तीन जना चालक र दुई जना सहचालकले लागुपदार्थ सेवन गरेको पाइएको छ भने दुई जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको छ।

यसरी लागुपदार्थ र मदिरा सेवन गरेको पाइएकाहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै गालीगलौज र दुर्व्यवहार भएपछि पक्राउ परेकामध्ये ६ जना विरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ अन्तर्गत सार्वजनिक स्थलमा अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। झापा प्रहरीले जिल्लामा लागुऔषध र सवारी दुर्घटना न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस :

54
Shares