बिर्तामोड

हिरासतमा दलित युवकको मृत्युपछि इलामका अधिकारकर्मीद्वारा निष्पक्ष छानबिनको माग

हिरासतमा दलित युवकको मृत्युपछि इलामका अधिकारकर्मीद्वारा निष्पक्ष छानबिनको माग


इलाम । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको बैशाख ७ गते भएको रहस्यमय मृत्युको घटनाप्रति इलामका विभिन्न संघसंस्था र अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

हिरासतभित्रै दलित युवकको मृत्यु हुनुले देशको सुरक्षा प्रणालीमाथि नै गम्भीर प्रश्न खडा गरेको भन्दै उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

घटनाको विवरण अनुसार ललितपुरको सातदोबाटोबाट पक्राउ परेका विक प्रहरी हिरासतमा रहेको अवस्थामा मृत फेला परेका थिए । मृतक विकले अन्तरजातीय विवाह गरेका कारण उनलाई जातीय विभेदका आधारमा झुठा मुद्दा लगाइएको आशंका गर्दै अधिकारकर्मीहरूले राज्यको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

घटनालाई दलित समुदायमाथिको थप दमन र मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा लिँदै विज्ञप्तिमा भनिएको छ, ‘नेपाललाई दुई दशकअघि नै छुवाछूत मुक्त राष्ट्र घोषणा गरिए पनि व्यवहारमा जातीय विभेदको जरा अझै गहिरो छ । दलित युवाहरूले अन्तरजातीय प्रेम वा सामान्य निहुँमा ज्यान गुमाउनुपर्ने अवस्था हुनु दुःखद छ ।’

आज मानव अधिकार मञ्च इलामका देवेन्द्र विश्वकर्मा, नेपाल दलित संघका सुमन दास, मुक्ति समाज नेपालका योगेन्द्र शंकर, नेपाल दलित मुक्ति मोर्चाका प्रकाश परियार, गैरसरकारी संस्था महासंघका मनकुमार बराईली, राष्ट्रिय दलित पत्रकार संघका बलराम बराईली र चेतना नाट्य समूहका सुरेश पोर्तेलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई हदैसम्मको कारवाही गर्न जोडदार माग गरेका छन् ।

शेयर गर्नुहोस :

81
Shares