बिर्तामोड । झापाको बिर्तामोडमा डाक्टर नवल मल्टि स्पेसियालिटी हस्पिटल प्रा.लिले उपचार सेवा सुरु गरेको छ । बिर्तामोड –२ स्थित मोहनमाया मावि पछाडि निर्माण सम्पन्न भएको हस्पिटलले उपचार सेवा सुरु गरेको डाइरेक्टर डा. शम्भु नवलले जानकारी दिए ।

दुई वर्षदेखि निर्माण थालिएको अस्पतालले संरचना पुरा भएसँगै उपचार सेवा सुरु गरेको उनको भनाई छ । १८ वर्ष सर्जन सेवामा अनुभव हासिल गरेका डा. नवलले नेतृत्व गरेको हस्पिटलमा ओपीडीसँगै अपरेशन सुरु भएको छ । २ महिनादेखि ओपीडी सुरु गरेको हस्पिटलले यसै साताबाट अपरेशनको सेवा सुरु गरेको डा. नवलले जानकारी दिए ।
उनका अनुसार २४ घण्टा इमरजेन्सी, एक्सरे, एसीजी, भिडियो एक्सरे, सर्जरी ओपीडी, सर्जरी वार्ड, पोष्ट वार्ड, अपरेशन थिएटर सेवा सञ्चालन हुने छ ।
हस्पिटलले बिर्तामोडमा पहिलो पटक पिसावको धार मापन गर्ने यन्त्र युरो फ्लो मेट्री भित्राएको दावी गरेको छ । नियमित रुपमा पिसावको धार मापन गर्दै स्वास्थ्य समस्या पहिचान गरेर उपचार गर्ने डा. नवलले जानकारी दिए । उनका अनुसार उक्त विधिबाट स्वास्थ्य समस्या पहिचान गर्ने, उपचारको प्रगतिबारे जानकारी हुने, के कसरी उपचार गर्ने, पिसाव कम भइरहेको कारण पत्ता लगाइने छ ।
टिचिङमा ३ वर्ष, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २ वर्ष र बिर्ता सिटीमा १३ वर्ष सर्जन सेवा अनुभव हासिल गरेका डा. नवलले २४ घण्टै सर्जन सेवा उपलब्ध गराउने जानकारी दिए । ९ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको २५ शैयाको अस्पतालमा विपन्न परिवारका लागि सहुलियत प्रदान गर्ने बताइएको छ ।







प्रतिक्रिया