बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. १० ले आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले विद्यालयमा आमा (अभिभावक) कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित उक्त अन्तरक्रियात्मक गोष्ठीले वडालाई शैक्षिक हबका रूपमा विकास गर्न सबै सरोकारवालाहरूको भूमिका र जिम्मेवारीलाई स्पष्ट पार्दै साझा प्रतिबद्धता सार्वजनिक गरेको छ ।

कार्यक्रमको समापन समारोहमा बोल्दै वडाध्यक्ष तथा प्रमुख अतिथि दुर्योधन गुरुङले वडालाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिए । भौतिक संरचनाको निर्माणसँगै विद्यालयमा अभिभावकको सक्रिय निगरानी र चासो बढ्ने हो भने शैक्षिक गुणस्तर वृद्धि गर्न कुनै समस्या नहुने उनको भनाई थियो । उनले सामुदायिक विद्यालयका अभिभावकहरू बढी सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए ।
गोष्ठीमा सहभागी सरोकारवालाहरूले बालबालिकाको सुनौलो भविष्यका लागि आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी वहन गर्ने अठोट गरेका छन् । विद्यालयहरूले बालमैत्री वातावरण निर्माण गर्ने, सूचना प्रविधिको प्रयोग बढाउने, अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने तथा पारदर्शिता र गुनासो पेटिकाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी, शिक्षकहरूले विद्यार्थीको मनोविज्ञान बुझेर व्यावहारिक र बौद्धिक ज्ञान दिने, शिक्षण सामग्रीको प्रयोग गर्ने र स्वयं अनुशासनमा रहेर विद्यार्थीका लागि रोल मोडल बन्ने प्रण गरेका छन् ।
अभिभावकहरूले पनि बालबालिकासँग साथीजस्तो व्यवहार गर्ने, उनीहरूको कुरा सुन्ने, घरमा पढ्ने र खेल्ने समय तालिका मिलाइदिने तथा आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउने र विद्यालयको अवस्थाबारे निरन्तर चासो राख्ने सहमति जनाएका छन् ।
यता, जनप्रतिनिधि र सामाजिक व्यक्तित्वहरूले सामुदायिक र निजी विद्यालयको पाठ्यक्रममा एकरूपता ल्याउन पहल गर्ने, विद्यालयमा मोबाइल र जंकफुडको प्रयोगमा पूर्ण बन्देज लगाउने तथा प्रत्येक हप्ता विद्यालयको अनुगमन र निरीक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले समेत अभिभावकले आफूहरूलाई अरूसँग तुलना गरेर डिमोटिभेट गर्न नहुने, घरमा पठनपाठनको वातावरण बनाउनुपर्ने र शिक्षकहरूले पढाउँदा विद्यार्थीका जिज्ञासालाई सम्मान गर्नुपर्ने जस्ता सुझावहरू दिएका थिए ।
रेजिना गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण लता खरेलले गरेकी थिइन् भने इन्दु पूर्वेलीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । महेन्द्र ज्योति माविका प्रधानाध्यापक जयकुमार झा लगायतले मन्तव्य राखेको सो कार्यक्रममा चारवटा समूहले तयार पारेको साझा प्रतिबद्धता पत्र प्रस्तुत गरिएको थियो । वडा कार्यालयको सहयोगमा आयोजित उक्त गोष्ठीमा दुई दिन गरी कुल १८८ जना सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।







प्रतिक्रिया