Banner news

झापामा प्रहरीको ‘स्वीप अपरेशन’ : दुई दिनमा १२८ जना पक्राउ

झापामा प्रहरीको ‘स्वीप अपरेशन’ : दुई दिनमा १२८ जना पक्राउ


झापा । लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेशन’ अन्तर्गत झापामा दुई दिनको अवधिमा १२८ जनालाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी एकाइहरूले संयुक्तरूपमा सञ्चालन गरेको यस अपरेशनका क्रममा लागुऔषधसहित ठूलो परिमाणमा शंकास्पद व्यक्तिहरू पक्राउ परेका हुन् ।

अभियानको पछिल्लो दिन अर्थात् वैशाख ११ गते प्रहरीले ६६ जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा १२ जनाको साथबाट अवैध लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम, ट्रामाडोल–५० ११७ पिस र डिकोलेक्स १०५ पिस बरामद गरिएको छ ।

लागुऔषधसहित पक्राउ परेका १२ जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि वैशाख १० गते सञ्चालित स्वीप अपरेशनका क्रममा प्रहरीले ६२ जनालाई नियन्त्रणमा लिएको थियो । उक्त दिनको कारवाहीमा २० ग्राम ४० मिलिग्राम ब्राउन सुगर र नगद ९ हजार रुपैयाँ समेत बरामद गरिएको थियो ।

प्रहरीले पछिल्लो समय जिल्लाभर लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । सामाजिक सुरक्षा र शान्ति व्यवस्था कायम राख्न यस्ता अपरेशनलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

189
Shares