झापा । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ झापाले ‘आइडिएनजी इम्प्याक्ट’ पब्लिकेसनले प्रकाशित गरेका विद्यालय तहका पाठ्यपुस्तकहरूको बिक्री–वितरण नगर्ने निर्णय गरेको छ ।
संघको जिल्ला कार्यसमितिको सचिवालय बैठकले उक्त प्रकाशन गृहले व्यावसायिक मर्यादा र मापदण्ड विपरीत काम गरेको भन्दै यस्तो कडा निर्णय लिएको हो ।
संघका अनुसार उक्त प्रकाशन गृहले स्थानीय अधिकृत बिक्रेताहरूलाई न्यूनतम व्यावसायिक सुविधासमेत नदिएर पुस्तक बिक्री वितरण गरिरहेको छ । पुस्तक ढुवानी खर्चसमेत उठ्ने अवस्था नरहेको र वर्षौंदेखिको व्यावसायिक अभ्यास तथा सरकारी मापदण्ड विपरीत रहेको संघको दाबी छ ।
संघले भनेको छ, ‘अन्य प्रकाशन गृहहरू सरहको छुट सुविधा कायम नभएसम्म र २४ घण्टाभित्र बिलिङ प्रणालीमा सुधार नआएसम्म जिल्लाभरका कुनै पनि व्यवसायीले आइडिएनजी इम्प्याक्टका पुस्तक बिक्री नगर्ने निर्णय गरेका छौँ ।’
विज्ञप्तिमा उल्लेख भएअनुसार, पुस्तकमा तोकिएको मूल्यबाहेक क्यूआर कोड प्रयोग गरेको भन्दै थप २५० रुपैयाँ असुल्ने कार्य गरिएको छ । संघले यसलाई विद्यार्थी र अभिभावकमाथिको प्रत्यक्ष अन्याय र ठगीको संज्ञा दिएको छ ।
केही विद्यालयहरूमा उक्त प्रकाशनका पुस्तकहरू पुगिसकेको जानकारी आएपछि संघले झापाका १५ वटै स्थानीय तहलाई ध्यानाकर्षण गराएको छ । कानुन विपरीत पुस्तक प्रयोग गर्ने विद्यालयहरूलाई कानुनी दायरामा ल्याउन संघले आग्रह गरेको छ । साथै, संघको निर्णय विपरीत पुस्तक बिक्री गरेको पाइएमा संघको आचारसंहिता २०८२ अनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
संघका अध्यक्ष विनोद सापकोटा र सचिव चुडामणि घिमिरे (चन्द्र) ले विज्ञप्ति जारी गर्दै सम्बन्धित पक्षलाई आफ्नो निर्णय सच्याएर व्यावसायिक मर्यादा कायम गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया