वेद प्रकाश दवाडी
इटहरी । इटहरीबाट प्रकाशन हुँदै आएको ‘पूर्वी हटलाइन’ राष्ट्रिय दैनिकको तेह्रौँ वार्षिकोत्सव तथा लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा झापाका अग्रज पत्रकार राजेन्द्र गौतम सम्मानित हुनुभएको छ ।
पत्रकार गौतमलाई ‘सीतादेवी ढकाल स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको हो । उहाँले विगत करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै सत्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह, जनचेतना अभिवृद्धि, विधिको शासन सुदृढीकरण, सामाजिक न्याय स्थापना तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पुर्याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

झापालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनुभएका गौतमले रुपान्तरणमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ । उहाँको इमानदारी, पेशागत निष्ठा र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको कार्यक्रममा उल्लेख गरिएको थियो ।
प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘पूर्वी हटलाइन’ का प्रधान सम्पादक शालिग्राम पाण्डे, पुरस्कारदाता मोहनप्रसाद ढकाललगायतले गौतमलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा पत्रकारितामार्फत समाज परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने पत्रकारहरू नवीन गड्तौला, ललिता भट्टराई (मोरङ), भगीरथ भण्डारी (इलाम) तथा रञ्जना पौडेल (सुनसरी)लाई विभिन्न शीर्षकमा पुरस्कृत गरिएको थियो ।
यसैगरी समाजसेवी विश्व रिजाल, व्यवसायी खुमानन्द चापागाईं, सञ्चार क्षेत्रका सर्वाधिक रक्तदाता केबी सम्राटलगायतलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता प्रधान सम्पादक शालिग्राम पाण्डेले गर्नुभएको थियो भने स्वागत मन्तव्य राजन केडीले राख्नुभएको थियो । कार्यक्रममा हेमन्त गौतम र बालिका भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले क्षेत्रीय पत्रकारिताको विकास तथा जनचेतनामूलक समाचार सम्प्रेषणमा ‘पूर्वी हटलाइन’ले खेलेको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । तेह्र वर्षको यात्रा पूरा गरेको ‘पूर्वी हटलाइन’ राष्ट्रिय दैनिकले आगामी दिनमा पनि निष्पक्ष, विश्वसनीय र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।







प्रतिक्रिया