बिर्तामोड । बिर्तामोडको कृषिथोक बजारमा सम्झौता विपरित व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई कारबाही गरिने भएको छ । कृषि बजार व्यवस्थापन समितिले सम्झौता बमोजिम व्यवसाय सञ्चालन नगरे कारबाही गर्ने जनाएको हो ।
कृषि बजार व्यवस्थापन समितिले व्यापारीहरुलाई बैशाख ११ गतेसम्मको अल्टिमेटम दिदैं व्यवसाय गर्न गरिएको सम्झौता बमोजिम आफै व्यवसाय सञ्चालन गर्न विभिन्न पसलहरुमा सूचना नै टाँसिएको छ । व्यवसाय सञ्चालन गर्न एउटा व्यवसायीले सम्झौता गर्ने र त्यो ठाउँ लाखौं रुपैयाँमा विक्री गर्ने गरेको पाइएको छ । कतिपय व्यापारीहरुले ३ हजार भाडामा व्यवसाय गर्न सम्झौता गरेको ठाउँ १०-१२ लाखसम्म विक्री गरेको बुझिएको छ । विक्री नगरिएको खण्डमा महंगोमा भाडामा लगाउने गरेको सूचना प्राप्त भएको छ ।

कृषिथोक बजारलाई व्यवस्थापन गर्न समितिले पटक–पटक असम्बन्धित व्यवसायीहरुलाई ठाउँ खाली गर्न भनेपनि अटेर गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
व्यवस्थापन समितिले सम्झौता गर्ने बाहेकका व्यवसायीले व्यवसाय सञ्चालन गरिरहेको जनाउँदै ३ दिनभित्र आफै सञ्चालन गर्न सूचित गरेको छ । सम्झौता विपरित व्यवसाय गरेमा कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका २०७३ बमोजिम यसअघिको सम्झौता खारेज गरेर कारबाही गरिने जनाइएको छ ।
निर्देशिका बमोजिम सम्झौता गर्ने बाहेकले व्यापार गर्न पाउने छैनन् । आफन्त, साथीभाईलाई समेत आफूले भाडामा लिएको ठाउँ कसैलाई दिन नमिल्ने निर्देशिकामा उल्लेख छ । आफूले व्यापार गर्न नसकेको खण्डमा कार्यालयलाई नै बुझाउनु पर्ने व्यवस्था रहेको व्यवस्थापन समितिले जनाएको छ ।
व्यापारीहरुले व्यापार गरिरहेको ठाउँमा समितिले नयाँ सम्झौता गरिदिनुपर्ने माग गर्दै आएका छन् । यसअघि ८४ वटा पसलमा यस्तै समस्या भएपछि नयाँ सम्झौता गरिएको थियो । तत्कालिन अध्यक्ष कमल पौडेलको कार्यकालमा विभागसँगको समन्वयमा नयाँ सम्झौता गरिएको थियो । सोही अनुसारको सम्झौता गरिदिनुपर्ने माग व्यवसायीहरुले दोहो¥याएका छन् ।
नयाँ सम्झौताका लागि विभागले एक पटकलाई नयाँ सम्झौता गर्न सहमति दिएको थियो । १२ वर्षमा एक पटकलाई सहमति दिएको विभागले अर्को पटक नयाँ सम्झौता नगर्ने स्पष्ट पारेको थियो । व्यापारका लागि सम्झौता गर्ने एउटा, व्यापार गर्ने अर्कै भएपछि थप समस्या बढ्न नदिन समितिले सूचना टाँस गर्दै व्यवस्थापनका लागि व्यापारीहरुलाई आग्रह गरेको हो ।
बजार निरीक्षक कमल अधिकारीले बजारलाई व्यवस्थित गर्न व्यवसायिहरुले नियमको पालना गर्नुपर्ने बताए । उनका अनुसार आफै व्यवसाय नगर्ने व्यवसायीहरुले कार्यालयलाई कोठा जिम्मा लगाउनुपर्छ । कृषिथोक बजारमा २५ वटा पसलमा अरु नै व्यवसायवासीहरुले व्यापार गरिरहेको पहिचान गरिएको छ । पहिचान भएको २५ वटा पसल हो, अरु पनि हुन सक्छ, अधिकारीले भने – ११ गते म्याद सकियो, कार्यालय खुलेपछि थप निर्णय हुनेछ । सम्झौतामा परिवारभित्र बुबा,आमा,छोराछोरीले मात्रै व्यवसाय सञ्चालन गर्न सक्नेछन् । बजारभित्र ३ महिनासम्म भाडा नतिर्ने र सम्झौताविपरित सामान विक्री गरेमा समितिलाई सम्झौता खारेज गर्ने अधिकार छ ।







प्रतिक्रिया