अर्जुनधारा । अर्जुनधाराका कृषकले दूध र तरकारीको मुल्य नपाएको गुनासो गर्दै सरकारलाई तत्काल बजार अनुगमनका लागि आग्रह गरेका छन् । विचौलियका कारण उचित मुल्य नपाएको गुनासो किसानले सरोकारवाला कार्यालयहरुलाई पठाएका हुन् ।
गाउँमा दूध प्रतिलिटर ५०/५५ रुपैयाँमा बेच्न बाध्य हुनुपरेको विषय कृषि मन्त्रालयसम्म किसानले जानकारी गराएका छन् । उपभोक्ताले त्यही दूध बजारमा १००/१२० रुपैयाँसम्म तिर्नुपर्ने जनाउदै चर्को मूल्य अन्तरले बजार प्रणालीमा बिचौलियाहरूको बलियो एकाधिकार रहेको जानकारी गराएका हुन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिए पनि किसानले उत्पादन गरेको दूध र तरकारीको मूल्य भने अत्यन्त न्यून रहँदा उनीहरू कृषि पेसाबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
स्थानीय तह सञ्चालन ऐन २०७४ ले कृषि बजार व्यवस्थापन, अनुगमन तथा किसानको हित संरक्षण गर्ने मुख्य जिम्मेवारी स्थानीय तहलाई दिएको छ । तर, झापालगायत देशका अधिकांश स्थानीय तहले बजार अनुगमन र किसानको लागत मूल्यअनुसारको समर्थन मूल्य तोक्न नसक्दा किसानहरू बिचौलियाको शोषणमा परेको गुनासो गरेका छन् ।
अर्जुनधारा १० स्थित मिश्र कृषि फार्मका सञ्चालकले सम्बन्धित सरकारी निकाय र स्थानीय सरकारलाई औपचारिक पत्र पठाउँदै तत्काल बजार अनुगमन गर्न, बिचौलियाको जालो तोड्न र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन् । किसान समस्यालाई गम्भीरताका साथ नलिए किसानहरू थप कानुनी र प्रशासनिक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
कृषि प्रधान देश भनिए पनि किसानको अवस्थामा सुधार नआउनु र बजारमा बिचौलियाको मनोमानी चल्नुले देशको कृषि अर्थतन्त्रलाई नै गम्भीर जोखिममा पारेको उनीहरुको धारणा छ । समयमै मूल्य निर्धारण र बजार व्यवस्थापन गरेर कृषि क्षेत्रको संरक्षणमा जोड दिन आग्रह गरिएको छ ।
नेपालको संविधान र विभिन्न ऐनहरूले किसानको हक र अधिकारको सुनिश्चितता गरे पनि व्यवहारमा भने त्यसको कार्यान्वयन हुन नसकेको किसानको भनाई छ । उपभोक्ता संरक्षण ऐन २०७५, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ का प्रावधानहरू कागजमै सिमित हुँदा किसान मारमा परेको उनीहरुको धारणा छ ।







प्रतिक्रिया