मुख्य समाचार

त्रिदेव क्याम्पसको अध्यक्षमा न्यौपाने निर्वाचित

त्रिदेव क्याम्पसको अध्यक्षमा न्यौपाने निर्वाचित


बिर्तामोड । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसको सातौं अधिवेशनबाट सन्तोष न्यौपानेको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ क्याम्पस सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको छ ।

सञ्चालक समितिका उपाध्यक्षहरूमा भक्तबहादुर खेवाङ, शरद शिवाकोटी, सुनिता रिजाल, कृष्णप्रसाद सिग्देल र मोहन अधिकारी निर्वाचित हुनुभएको छ । विधान बमोजिम १९ सदस्यीय रहने समितिमा बाँकी सदस्यहरू पदेन रूपमा रहने व्यवस्था छ । साथै, निर्वाचित र पदेन सदस्यहरूको संयुक्त बैठकबाट थप एक उपाध्यक्ष छनोट गरी दुईजना उपाध्यक्ष रहने प्रावधान रहेको जानकारी गराइएको छ ।

यसैगरी, आन्तरिक लेखा समितिको संयोजकमा जगन भट्टराई तथा सदस्यहरूमा मवेन्द्र पौडेल र दीपेन्द्र सुवेदी निर्वाचित हुनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्याम्पस प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक दुर्गा प्रसाद भट्टराईको अध्यक्षता र सदस्य ओदराज सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नवनिर्वाचितहरूलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिइएको छ ।

कार्यक्रममा क्याम्पसका संस्थापक अध्यक्ष हरिचरण बानियाँले क्याम्पसको स्थापना र विकासमा रहेको संघर्षपूर्ण इतिहास स्मरण गराउँदै नवनिर्वाचित नेतृत्वलाई इमान्दारिताका साथ क्याम्पसको गरिमा उच्च राख्न आग्रह गर्नुभयो ।

संस्थापक क्याम्पस प्रमुख माधव प्याकुरेल, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे, जिल्ला अदालत झापाका अधिकृत बोधराज सुवेदी र क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले नवनिर्वाचित समितिको कार्यकाल सुखद रहने विश्वास व्यक्त गर्नुभयो । निवर्तमान अध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा भएका प्रगतिको चर्चा गर्दै आगामी दिनमा पनि क्याम्पसको विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

नवनिर्वाचित उपाध्यक्ष भक्तबहादुर खेवाङ र लेखा समिति संयोजक जगन भट्टराईले क्याम्पसको चौतर्फी उन्नति र विकासका लागि निष्ठापूर्वक लागिपर्ने अठोट व्यक्त गर्नुभएको छ ।

शेयर गर्नुहोस :

2.6k
Shares