बिर्तामोड । ३८ औं विराट गोल्डकपको उपाधि जित्न सफल झापा ११ का खेलाडीहरुलाई सम्मान गरिएको छ ।
सोमवार चारपानेमा आयोजित एक कार्यक्रममा झापा ११ का खेलाडीहरुलाई सम्मान गरिएको हो ।
हालै सम्पन्न विराट गोल्डकपमा उपाधि जित्न सफल खेलाडीहरुलाई नगद, सम्मानपत्र प्रदान गरिएको थियो । सम्राट स्पोर्टिङ क्लवलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको झापा ११ ले ट्रफीसँगै ११ लाख रुपैयाँ नगद प्राप्त गर्न सफल भएको थियो ।
स्थापनाकालदेखि ३ दर्जन ट्रफी जित्न सफल झापा ११ ले राष्ट्रिय लिगसहित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएको छ । सर्वाधिक ३२ लाख पुरस्कार राशीको समेत जित्न सफल झापा ११ कमजोर स्रोतसाधनका बाबजुद फुटबलमा विजयी यात्रा गरिरहेको छ ।

झापा ११ का अध्यक्ष जलकुमार गुरुङले विभिन्न कमजोरीहरुका बीचमा पनि क्लवले जित हासिल गरिरहेको बताए । ‘कमजोर अवस्थामा पनि क्लवले जित्न बिर्सिएको छैन’, उनले भने । स्थापनाकालदेखि झापा ११ ले दर्शकलाई खुशी बनाइरहेको स्मरण गर्दै अध्यक्ष गुरुङले धैर्यताबाट परिणाम हात पार्न सकिने स्पष्ट पारे । ‘झापा ११ आज धैर्यता, अनुशासन र निरन्तरताले यहाँसम्म आएको हो’, गुरुङले भने । आफूहरुसँग फुटवलको कल्चर रहेको बताउँदै उनले ठुलो ठुलो जित प्राप्त गर्न पहिला सानो सानो जित हासिल गर्दर्ै अघि बढ्नुपर्छ ।
अध्यक्ष गुरुङले झापाका स्थानीय तहहरुलाई झापा ११ को उन्नयनका लागि आवश्यक सहयोग गर्न आग्रह समेत गरे । क्लवको संरक्षणमा झापाका पालिकाहरुको भूमिका आवश्यक रहेको उनको भनाइ छ । अब झापा ११ ले १९ वर्ष मुनीका खेलाडी छनौट सुरु गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार जिल्लाका हरेक गाउँगाउँबाट खेलाडी खोजी गरिनेछ ।
खेलाडी सम्मान कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, हल्दिवारीका अध्यक्ष रविन्द्र लिङदेन, बिर्तामोड वडा नं. २ का वडाध्यक्ष किशोर पौड्यला, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले धारणा राखेका थिए । उनीहरुले झापा ११ लाई हरेक हिसावले बलियो बनाउनुपर्ने बताए ।
आर्थिक रुपमा क्लवलाई मजबुद बनाएर खेलाडीको आत्मसम्मान समेत बलियो बनाउन आवश्यक रहेको उनीहरुको भनाइ छ । झापा ११ मुलुककै शान भएको बताउँदै उनीहरुले क्लवको प्रगतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।







प्रतिक्रिया