अन्तराष्ट्रिय

नाम्चीको चारधाम: धार्मिक र आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य

नाम्चीको चारधाम: धार्मिक र आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य


लक्ष्मी उप्रेती
काँकरभिट्टा । दक्षिण सिक्किमको नाम्चीस्थित सिद्धेश्वर धाम (चारधाम) पछिल्लो समय धार्मिक र आन्तरिक पर्यटनको एक उत्कृष्ट गन्तव्यका रूपमा उदाएको छ।

पहाडी शिखरमा हिन्दू धर्मका प्रसिद्ध चार धामहरू—बद्रीनाथ, जगन्नाथ, द्वारका र रामेश्वरम—सहित भारतका विभिन्न स्थानमा रहेका बाह्र ज्योतिर्लिङ्गहरूलाई एकै ठाउँमा कलात्मक रूपमा निर्माण गरिएको छ। यहाँको सबैभन्दा ठूलो आकर्षण १०८ फीट अग्लो भगवान शिवको विशाल मूर्ति हो, जसले टाढैबाट पर्यटकहरूको ध्यान तान्ने गर्दछ। एकै थलोमा धेरै देवीदेवता र तीर्थस्थलको दर्शन गर्न पाइने हुनाले विशेषगरी नेपाल, भारतको बिहार, दार्जिलिङ र भुटानबाट वार्षिक ५ देखि १० लाखको संख्यामा भक्तजनहरू यहाँ पुग्ने गरेका छन्।

धार्मिक पर्यटनको यो अद्भुत नमुनाले सिक्किमको आर्थिक र पर्यटकीय विकासमा कोशेढुंगाको काम गरेको छ। विशेषगरी अङ्ग्रेजी महिनाको अप्रिलदेखि जुनसम्म र अक्टोबर-नोभेम्बरमा यहाँ पर्यटकको ठूलो चहलपहल हुन्छ। महाशिवरात्रिको अवसरमा यहाँ महिना दिनसम्म भव्य मेला लाग्छ भने साउनको सोमबार रुद्राभिषेकका लागि श्रद्धालुहरूको थामिनसक्नु भीड हुने गर्दछ।

नेपाली पर्यटकहरूका लागि भाषा, संस्कृति र भेषभूषा मिल्दोजुल्दो भएकाले नाम्ची निकै सहज र आत्मीय गन्तव्य बनेको छ। भारतका अन्य दुर्गम चारधाम पुग्न लाग्ने समय र खर्चको तुलनामा यहाँ कम खर्चमै सबै धार्मिक लाभ प्राप्त हुने भएकाले पनि नेपाली दर्शनार्थीहरूको रोजाइमा यो ठाउँ परेको हो।

यस धामको सफलताले नेपालका लागि पनि महत्त्वपूर्ण सन्देश दिएको छ। झापाका पर्यटन व्यवसायी र सरकारी अधिकारीहरूका अनुसार नेपालमा छरिएर रहेका मठ-मन्दिर र शक्तिपीठहरूलाई कुनै एक क्षेत्रमा एकीकृत गरी यस्तै संरचना बनाउन सके धार्मिक पर्यटनको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ।

सिक्किम सरकारले मानव निर्मित तीर्थस्थल मार्फत जसरी पर्यटक आकर्षण गरेको छ, त्यसरी नै नेपालका तीनै तहका सरकारले समन्वय गरेर भौतिक पूर्वाधारमा लगानी गर्ने हो भने नेपालीहरूको जीवनस्तर उकास्न र देशको समृद्धिमा नयाँ बाटो खुल्न सक्छ। नाम्चीमा रहेका स्तरीय होटल, होमस्टे र यातायातको सुविधाले पनि पर्यटकलाई थप सहज बनाएको छ, जसले गर्दा यहाँ आउने जो कोही पर्यटक सिद्धेश्वर धामको दर्शन नगरी फर्कँदैनन्।

शेयर गर्नुहोस :

135
Shares