बिर्तामोड । चर्चित फुटबल क्लव झापा ११ को संरक्षणमा सबैको साथ सहयोग जरुरी रहेको खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले बताएका छन् । उनले क्लवको संरक्षणमा स्थानीय तहको विशेष भूमिका हुनुपर्ने बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले हरेक स्थानीय तहले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । झापा ११ का खेलाडीहरुको सम्मानमा बोल्दै अध्यक्ष भण्डारीले खेलकुद बुझ्नेहरुले लगानी गरिरहे पनि अन्य जनप्रतिनिधिहरुले खेलप्रति चासो नदिएको स्पष्ट पारे ।
उनका अनुसार लगानी गर्ने पालिकाहरुले उपलब्धी हासिल गरिरहेको छन् । अर्जुनधारा नगरपालिकाले ३ पटक राष्ट्रपति रनिङ शिल्ड जितेको स्मरण गराउँदै झापाका सबै पालिकाहरुले खेल क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।

उनले झापा ११ ले जिल्लालाई संसारभर चिनाउन सफल भएको बताएका छन् । यो क्लव झापाको प्रतिनिधि क्लव हो, उनले भने – अहिले क्लव विभिन्न हिसावले अप्ठ्यारोमा रहे पनि जित हासिल गर्न अब्बल रहेको छ । विराट गोल्डकपको उपाधि विजेता बनेको झापा ११ लाई हरेक हिसावले सक्षम बनाउन जरुरी रहेको भण्डारीको भनाई थियो ।
अध्यक्ष भण्डारीले झापा ११ एकातिर र झापा गोल्डकप अर्काेतिर हुनु दुखद् भएको बताएका छन् । गोल्डकप र क्लव किन एक हुन सकेन ? प्रश्न गर्दै भण्डारीले थपे, खेलाडीहरुलाई व्यवसायिक बनाएर झापाका खेलाडीहरुलाई जिल्लाकै क्लवबाट खेल्ने वातावरण तयार हुनुपर्छ । झापा ११ का विरुद्ध जिल्लाकै खलाडीहरु मैदान उत्रिएको प्रसंग सुनाउदै उनले जिल्लाका खेलाडीहरु झापाबाटै खेल्नुपाउनु पर्ने वातावरण तयार गर्न आग्रह गरे ।
युवाहरुलाई गलत बाटोमा जान नदिन स्थानीय सरकारले खेलकुदमा लगानी गर्नैपर्ने जिकिर गरेका छन् । खेलकुद भनेको शिक्षा, स्वास्थ्य र पर्यटन पनि हो, यो कुरा कहिले बुझ्ने – भण्डारीले प्रश्न गरे ।







प्रतिक्रिया