Banner news

झापामा दोस्रो पटक भर्ना शुल्क लिए फिर्ता गर्नुपर्ने

झापामा दोस्रो पटक भर्ना शुल्क लिए फिर्ता गर्नुपर्ने


बिर्तामोड । झापामा संस्थागत विद्यालयहरुले विद्यालयमा भर्नासँगै पठनपाठन सुरु गरेका छन् । अधिकांश विद्यालयलहरुले भर्ना कार्यक्रमसँगै पठनपाठन सुरु गरेको जनाइएको छ ।

सरकारले बैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि नियमित पठनपाठन गर्न निर्देशन गरेको थियो । झापाका धेरैजसो विद्यालयहरुले त्यसअघि नै भर्नाको प्रक्रिया थालेका थिए भने धेरै जसो विद्यालयहरुले पठनपाठन सुरु गरेका छन् ।

झापा प्याब्सनका अध्यक्ष छत्र कार्कीले पठनपाठन पूर्ण रुपमा सुरु नभएको जानकारी दिए । सबै विद्यालयहरु खुलिसेकका छन्, पूर्ण रुपमा पढाई भइहालेको अवस्था छैन , उनले भने – भर्नासँगै कतिपय विद्यालयहरुले पठनपाठनको काम थालेका छन् । कोर्षकै पढाई भइहालेको स्थिति छैन ।

विद्यालयहरुले भर्ना गर्ने र विद्यार्थीहरुलाई अनुशासन, संस्कारबारे जानकारी दिने र लेखन अभ्यास गराइरहेको उनको भनाई छ । लगभग २१ गतेबाट कोर्ष अन्तर्गत पूर्ण रुपमा पठनपाठन हुने छ । यसैबीचमा अभिभावकहरुले किताव किन्ने, डे«स सिलाउने काम समेत गर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।

बैशाख महिनाको मासिक शुल्क के गर्ने भन्ने विषयमा अध्यक्ष कार्कीले शुल्क निर्देशिका – २०७२ बमोजिम गर्ने जानकारी दिए । उनका अनुसार १२ महिनाको शुल्क लिएर शिक्षक कर्मचारीहरुलाई १३ महिनाको तलव दिने व्यवस्था कार्यान्वयन गरिनेछ । बैशाख ३ गतेबाट शिक्षक कर्मचारीहरु विद्यालयको काममा खटिनु भएको छ, उनले भने – उहाँहरुलाई बैशाखको तलव दिन सक्दैनौं भन्न सकिदैन । त्यसैले अभिभावकहरुले बैशाखको शुल्क आफै बुझाउनु हुनेछ ।

हरेक कक्षामा भर्ना लिने व्यवस्था बारे झापा प्याव्सनका अध्यक्ष कार्कीले कडा प्रतिक्रिया दिएका छन् । उनले एक जना विद्यार्थीलाई एउटै विद्यालयले दोस्रो पटक भर्ना शुल्क लिएको प्रमाण भेटिए फिर्ता गर्नुपर्ने बताए । अर्को विद्यालयमा गएमा भर्ना गर्नैपर्छ, तर एउटै विद्यालयले दोस्रो पटक भर्ना शुल्क लिन मिल्दैन, उनले थपे ।

अभिभावकसँग शुल्क निर्देशिका बमोजिम १४ वटा शिर्षकमा शुल्क लिन पाइने व्यवस्था भएको अध्यक्ष कार्कीको भनाई छ । उनले झापाका संस्थागत विद्यालयहरुले त्यसमध्ये केही शिर्षकमा मात्रै शुल्क लिएको जानकारी दिए । विभिन्न गतिविधिहरुका लागि इसीएसहितका शिर्षकमा वार्षिक रुपमा शुल्क लिन मिल्ने उनको भनाई छ । तर , गतिविधिहरु सञ्चालन हुनुपर्छ । गाडि भाडाका सन्दर्भमा अभिभावकसँगको समन्वयमा समझदारी गर्न सकिनेछ ।

उनले झापाका अधिकांश पालिकाहरुले शुल्क निर्धारण गरेको जानकारी दिए । उनका अनुसार बुद्धशान्तिमा एउटै शुल्क कायम गरिएको छ ।

शेयर गर्नुहोस :

486
Shares