Banner news

झापामा स्कुल बस दुर्घटना, १३ जना घाइते

झापामा स्कुल बस दुर्घटना, १३ जना घाइते


झापा । झापाको कचनकवल गाउँपालिकामा आज बिहान विद्यार्थी बोकेको एउटा स्कुल बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्लाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि भद्रपुर–दलकी भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो।

प्रहरी चौकी पथरियाका अनुसार बिहान करिब ९:२५ बजेको समयमा दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको विद्यापानी सेकेन्डरी स्कुलको प्र १-०१-००१ ख ४४८२ नम्बरको बसले बाटोमा निस्कँदै गरेको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमै पल्टिएको थियो। दुर्घटनाको समयमा बसमा करिब १८ देखि २० जना विद्यार्थीहरू सवार रहेका थिए।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ५२ वर्षीय ओम प्रसाद तिमसिनासहित अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुशबु श्रेष्ठ, करण राजवंशी, प्रतीक्षा राजवंशी, बरटिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशी र दिपेन राजवंशीको हाल बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मोटरसाइकल चालक तिमसिनाको मुख, टाउको र खुट्टामा चोट लागेको छ भने विद्यार्थीहरूको अवस्था सामान्य रहेको छ। केही विद्यार्थीलाई भने अभिभावकहरूले नै उपचारका लागि अन्यत्र लगेको प्रहरीले जनाएको छ।

घटनालगत्तै बसका चालक फरार भएकाले हाल उनको तीव्र खोजी भइरहेको छ। प्रहरीले दुर्घटनाग्रस्त बस र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

शेयर गर्नुहोस :

513
Shares